+
Search

ताजा अपडेट +

पपुलर +

आन्तरिक विवादबीच श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका लागि चार जनाको नाम टुंग्यायो

फाइल तस्बिर
पालिका लाइभ
२०८२ फाल्गुन ३०, शनिबार

काठमाडौं– आन्तरिक विवादका बीच श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ पठाउने सांसदहरूको नाम टुङ्ग्याएको छ।   फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्राप्त मतका आधारमा पार्टीले चार जना समानुपातिक सांसद पाउने भएपछि अन्ततः चार जनाको नाम सिफारिस गर्ने निर्णय गरिएको हो।

निर्वाचन परिणामअनुसार श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ कुल ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको थियो। सो मतका आधारमा पार्टीले प्रतिनिधिसभामा चार जना समानुपातिक सांसद पठाउने अधिकार पाएको छ। चार सिट पाउने भएपछि पार्टीभित्र कसलाई सांसद बनाउने भन्ने विषयमा केही समयदेखि विवाद उत्पन्न भएको थियो।

पार्टीकी केन्द्रीय कोषाध्यक्ष समिता राईका अनुसार समानुपातिक सांसदको नाम अन्ततः टुंगो लगाइएको छ। उनका अनुसार आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल तथा आदिवासी जनजाति समूहबाट पूर्ण लिम्बूलाई सिफारिस गर्ने निर्णय भएको छ।

यसअघि प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि समानुपातिक सूचीबाट कसलाई संसदमा पठाउने भन्ने विषयमा पार्टीभित्र तीव्र मतभेद देखिएको थियो। विशेष गरी खस आर्य समूहअन्तर्गत पहिलो नम्बरमा रहेका जीवन विष्टले आफ्नो नाम समानुपातिक सूचीबाट फिर्ता लिने घोषणा गरेका थिए।

विष्टले सामाजिक सञ्जालमार्फत आफू पदका लागि विवादमा नपर्ने भन्दै नाम फिर्ता लिएको बताएका थिए। उनले लेखेका थिए, ‘यो समय लोभी, पापी र अवसरवादी सोचबाट ग्रसित भई एकथान पदका लागि झगडा गर्दै हिँड्ने समय होइन। श्रद्धेय अध्यक्ष हर्क साम्पाङ र मतदाताको सम्मान गर्दै तथा श्रम संस्कृति पार्टीमा त्याग गर्न सक्ने संस्कारी व्यक्तिहरू पनि छन् भन्ने उदाहरण स्थापित होस् भन्ने हेतुले मैले आफ्नो नाम समानुपातिक बन्द सूचीबाट फिर्ता लिएको घोषणा गर्दछु।’

समानुपातिक सांसद चयनको विषयमा विवाद बढ्दै गएपछि पार्टी अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले समेत सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका थिए। उनले सामाजिक सञ्जालमा ‘भात खाऊ, मेरो टाउको नखाऊ’ भन्ने टिप्पणी गर्दै समानुपातिकको विषयमा अनावश्यक विवाद नगर्न आग्रह गरेका थिए।

साथै उनले समानुपातिक सिटको विषयमा सामाजिक सञ्जालमा रोइलो गर्ने जो कोहीलाई पनि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सकिने चेतावनी दिएका थिए। चार सिट मात्र प्राप्त हुँदा पनि समानुपातिक सूचीको अन्तिमतिर रहेका व्यक्तिहरूले समेत आफूलाई सांसद बनाउन दबाब दिएको भन्दै पार्टी नेतृत्व असन्तुष्ट देखिएको थियो।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्न सफल भएको छ। पार्टीले खोटाङ, भोजपुर र सुनसरी–१ मा प्रत्यक्षतर्फ विजय हासिल गरेको हो। समानुपातिकतर्फ पनि थ्रेसहोल्ड पार गरेपछि पार्टीले राष्ट्रिय दलको हैसियत प्राप्त गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ