+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाका रन्जित विजयी

‘ह्याट्रिक’ गर्नबाट रोकिए सुवाल, भक्तपुरमा ढल्यो नेमकिपाको किल्ला

फाइल तस्बिर
पालिका लाइभ
२०८२ फाल्गुन २३, शनिबार

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रञ्जित विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार रञ्जितले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवाललाई पराजित गर्दै जीत हात पारेका हुन्। रञ्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दा सुवालले २८ हजार १७८ मत मात्र प्राप्त गरे। दुवै उम्मेदवारबीचको मतान्तर ५ हजार २५८ रहेको छ।

यसैगरी सो क्षेत्रमा नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत, नेकपा (एमाले) का सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भरत खड्काले २ हजार ४७२ मत तथा नेकपाका हरिराज लवजुले १ हजार १७७ मत प्राप्त गरेका छन्।

भक्तपुर–१ लामो समयदेखि नेपाल मजदुर किसान पार्टीको प्रभाव क्षेत्रका रूपमा चिनिँदै आएको थियो। अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट प्रेम सुवाल नै विजयी भएका थिए।

२०७९ सालको निर्वाचनमा सुवालले ४२ हजार ७६१ मत प्राप्त गर्दै भारी मतान्तरसहित जीत हासिल गरेका थिए। त्यतिबेला उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का नवराज गेलालले ११ हजार ९६८ मत पाएका थिए।

त्यसअघि २०७४ सालको निर्वाचनमा पनि सुवाल यही क्षेत्रबाट विजयी भएका थिए। लगातार दुई पटक चुनाव जितेका सुवाल यस पटक भने ह्याट्रिक गर्नबाट रोकिएका छन्।

वास्तवमा २०४७ सालदेखि नै भक्तपुर–१ नेमकिपाको गढका रूपमा चिनिँदै आएको क्षेत्र हो। सुवालअघि यस क्षेत्रबाट नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले पटक–पटक फराकिलो मतान्तरसहित चुनाव जित्दै आएका थिए।

यस पटक भने रास्वपाका रुकेश रञ्जित विजयी भएपछि भक्तपुर–१ को राजनीतिक समीकरणमा नयाँ परिवर्तन देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ