+
Search

ताजा अपडेट +

पपुलर +

जित निश्चित भएपछि महावीर पुनले भने: विजय जुलुस निकाल्न बेनी बजार नझर्नुहोला

पालिका लाइभ
२०८२ फाल्गुन २३, शनिबार

काठमाडाैं- प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार महाविर पुनले विजयी नजिक पुगेपछि विजयी जुलुस नगर्ने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत विजयी जुलुसमा कोही नआउनु आग्रह गरेका हुन् ।

उनले लेखेका छन्– जीत पक्का भयो । त्यसैले फेरि पनि भन्छु बेनीमा विजयी जुलुस निकाल्न कोही पनि पैसा र समय खर्च गरेर नआउनु होला । किनभने विजयी जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धिहरुलाई उडाउनु हुँदैन । आउँदो दिनमा विपक्षीहरूसँग मिलेर म्याग्दीको विकासमा काम गर्नुपर्छ ।

उनले यस्तो खुसीयाली आफ्नो गाउँघरमै मनाउन समेत आग्रह गरेका छन् ।

म्याग्दीमा जारी मतगणना अनुसार पुन करिब चार हजार मत गणना बाँकी हुँदा १२ हजार ६०० भन्दा बढी मतान्तरले अगाडि छन् । धौलागिरि, मालिका, मङ्गला गाउँपालिका, बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको ४१ वटा वडाको मतगणना सकिँदा पुनले २० हजार २०८ मतसहित अग्रता बनाएका हुन् ।

पुनको गृहपालिका अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ को तीन हजार ९०६ मत गणना हुन बाँकी छ ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले हालसम्म सात हजार ५२४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार २७५, नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले तीन हजार ४१२ मत प्राप्त गरेका छन् ।

बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो । बयालीस हजार ४४५ मत गणना सकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ