गोरखा– नेपाली कांग्रेस र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल भएपछि प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष यज्ञ बल्लभ शर्मा पार्टी परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
गोरखाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारलाई सघाउने सहमति भएपछि जिल्लाको राजनीतिक वातावरण तरंगित बनेको थियो। यद्यपि प्रलोपाको जिल्ला कार्यसमितिले प्रारम्भमा औपचारिक सहमति नभएको भन्दै प्रेस विज्ञप्तिमार्फत खण्डन गरेको थियो। तर पछि जिल्ला नेतृत्व तहबाट लिखित सहमति भएको पुष्टि भएपछि पार्टीभित्रै मतभेद सतहमा आएको छ।
यही पृष्ठभूमिमा गण्डकी प्रदेश अध्यक्ष शर्माको पार्टी त्यागलाई अर्थपूर्ण रूपमा हेरिएको छ। स्रोतका अनुसार कांग्रेससँगको सहकार्यप्रति असन्तुष्टि जनाउँदै उनले प्रलोपा छाड्ने निर्णय लिएका हुन्। सोमबार आयोजित कार्यक्रममा उनलाई नेकपाका नेताहरू दिनानाथ शर्मा र हितमान शाक्यले स्वागत गरेका थिए।

प्रलोपा र गाेरखा कांग्रेसपची लिखित रूपमा चुनावी तालमेल भएकाे छ ।
शर्मा यसअघि नेकपा माओवादी केन्द्रसँग आबद्ध थिए। माओवादी केन्द्रबाट अलग भएपछि उनी जनार्दन शर्माले गठन गरेको प्रलोपामा सक्रिय भएका थिए र गण्डकी प्रदेश अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए। तर प्रलोपाले मार्क्सवादी सिद्धान्त र समाजवादी अर्थनीतिलाई परित्याग गरेको निष्कर्षसहित आफू पुनः नेकपामा फर्किएको उनले बताए।
गोरखामा चुनावी गतिविधि तीव्र बन्दै गइरहेका बेला प्रदेश अध्यक्षको पार्टी परिवर्तनले स्थानीय राजनीतिक समीकरणमा नयाँ तरंग पैदा गरेको छ।

कांग्रेस–प्रलोपा तालमेल, त्यसपछि देखिएको आन्तरिक असन्तुष्टि र अहिलेको नेकपा प्रवेशले आगामी निर्वाचनमा कस्तो प्रभाव पार्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
प्रतिक्रिया