पोखरा– प्रतिनिधि सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा तयारी अन्तिम चरणमा पुगेको छ।
शनिवार प्रदेश निर्वाचन कार्यालय, पोखराले सञ्चारकर्मीसँग गरेको अन्तरक्रियामा निर्वाचन व्यवस्थापनका सबैजसो काम सकिन लागेको जानकारी दिएको हो।
प्रदेशभर झन्डै २१ हजार कर्मचारी तथा स्वयंसेवक परिचालन हुने भएका छन्। तीमध्ये १४ हजार ३५० कर्मचारी र ७ हजार ६५ स्वयंसेवक रहने प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल ले जानकारी दिए। उनका अनुसार १८ फागुनभित्र सबै मतदान अधिकृत र सहायक अधिकृतसहितको टोली आ–आफ्नो मतदानस्थलमा पुगिसक्नेछ।
ढकालले मतपत्रसहितका सम्पूर्ण निर्वाचन सामग्री प्रदेश निर्वाचन कार्यालयमा आइसकेको र मतदान केन्द्रअनुसार छुट्टाएर वितरणका लागि तयारी अवस्थामा राखिएको बताए। गण्डकीका ११ वटै जिल्लामा वडास्तरसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। गत ३ फागुनदेखि सुरु भएको उक्त कार्यक्रम आइतबार सम्पन्न हुने जनाइएको छ।
निर्वाचन तयारीसँगै मौसमलाई सम्भावित चुनौतीका रूपमा हेरिएको छ।
विशेषगरी हिमाली जिल्लामा हिमपातका कारण मतदान केन्द्र सार्नुपर्ने अनुमान गरिए पनि पछिल्ला दिनमा मौसममा सुधार आएसँगै बाटो खुलाउन पहल गरिएको र तोकिएकै स्थानमा मतदान गराउने सहमति बनेको ढकालले बताए। मतदान अधिकृत र सहायक अधिकृतको तालिम भने सम्पन्न भइसकेको छ।
हिमालपारिको जिल्ला मुस्ताङ अन्तर्गत बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको करिब ४४ सय मिटर उचाइमा रहेको शाङ्ता गाउँ तथा मनाङकाे नारफू गाउँपालिकाअन्तर्गत नार र फू गाउँ (करिब ४२ सय मिटर उचाइ) मा हिमपात भएको छ। यस्ता उच्च हिमाली क्षेत्रमा मतदानका लागि विशेष तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
गोरखा, म्याग्दी, मुस्ताङ र मनाङका ३ हजार मिटरभन्दा माथिका मतदान केन्द्रमा खटिने कर्मचारीका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ। विगतमा जाडो छल्न बाहिरिएका हिमाली क्षेत्रका मतदाता पनि निर्वाचनका लागि गाउँ फर्किने क्रम जारी रहेको जनाइएको छ।
यसैबीच, कास्की जिल्लाका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरे।
प्रतिक्रिया