काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार तथा उनीहरूको एकाघरका परिवारका सदस्यहरूको बैंक खातामा निगरानी सुरु गरेको जनाएको छ।
निर्वाचन खर्च पारदर्शी र व्यवस्थित बनाउन गरिएको व्यवस्थाको पालना नभएपछि आयोगले यस्तो कदम चालेको हो।
आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था गर्दै उम्मेदवारहरूलाई छुट्टै बैंक खाता खोल्न पटक–पटक निर्देशन दिएको थियो। तर अधिकांश उम्मेदवारले बैंकिङ प्रणालीबाहिरबाट खर्च गरेको पाइएपछि आयोगले निगरानी कडाइ गरेको हो।
अब प्रचारप्रसार अवधिभर उम्मेदवारसँगै उनका परिवारका सदस्यहरूको बैंक कारोबारसमेत अनुगमन गरिने बताइएको छ।
केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त सगुन शमशेर जबराले बैंक खातामार्फत निर्वाचन खर्च नगर्ने उम्मेदवारमाथि प्रचलित कानूनअनुसार कारबाही गरिने स्पष्ट पारे। उनले उम्मेदवारको वित्तीय गतिविधिको अनुगमन जिल्ला तहबाटै भइरहेको जानकारी दिए।
उनका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीले निर्वाचन सामग्रीमा भएको खर्चको अनुगमन गरिरहेका छन् भने जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृतहरूले उम्मेदवारहरूको वित्तीय अवस्थामाथि निगरानी राखिरहेका छन्। यस विषयमा नेपाल राष्ट्र बैंकलाई समेत पत्राचार गरिएको आयोगले जनाएको छ।
आयुक्त जबराले उम्मेदवारले पुरानै बैंक खाता प्रयोग गरेर खर्च गरे पनि त्यसको निगरानी गरिरहेको बताए। ‘आयोगले निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्न निर्देशन दिएको थियो। निर्देशनको पालना नभए आचारसंहिता उल्लंघन अन्तर्गत निर्वाचन कसुर ऐन आकर्षित हुन सक्छ,’ उनले भने, ‘आवश्यक परे ब्ल्याकलिस्टमा राखेर कारबाही गर्न आयोग सक्षम छ।’
निर्वाचन खर्चलाई पारदर्शी, व्यवस्थित र कानूनी दायराभित्र राख्न आयोगले निगरानी थप कडा बनाएको जनाएको छ।
प्रतिक्रिया