बुटवल– नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले आगामी फागुन २१ गते हुने निर्वाचनले मुलुकको विद्यमान संकट समाधान गर्न नसक्ने बताएका छन् ।
शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भुसालले पुराना नेतृत्वको कमजोरी र असफलता बोकेर अघि बढ्ने निर्वाचनले अंकगणितीय परिवर्तन ल्याए पनि देशको संरचनात्मक समस्या समाधान गर्न नसक्ने धारणा राखे । उनले फागुन २१ को निर्वाचन आवश्यकता भन्दा बढी बाध्यता भएको टिप्पणी गरे ।
‘यो निर्वाचन नेपाली जनताले चाहेको होइन, संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियामा उत्पन्न असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको हो,’ उनले भने, ‘मुलुक केही समयदेखि उकुसमुकुसको अवस्थामा थियो । जेनजी आन्दोलनपछि पनि मूल समस्या यथावत् छ, त्यसैलाई बोकेर निर्वाचनमा जाँदा संकट समाधान हुँदैन ।’
भुसालले नयाँ वा पुराना कुनै पनि दलले जनताको वास्तविक माग सम्बोधन गर्ने स्पष्ट दृष्टि नदेखाएको आरोप लगाए । निर्वाचनपछि झन् जटिल अवस्था सिर्जना हुन सक्ने उनको आशंका छ । राजनीतिक दलहरूको कमजोरी सार्वजनिक गरी राष्ट्रिय संकल्पसहित सुधारको बाटो रोज्नुपर्नेमा त्यसो नगरी सिधै निर्वाचनमा जानु समस्या लुकाउने प्रयास मात्र भएको उनले बताए ।
उनले गौरिबहादुर कार्की नेतृत्वको आयोगले पनि मुलुकको यथार्थ अवस्थालाई पूर्ण रूपमा उजागर गर्न नसक्ने दाबी गरे । अवसर गुमाउँदा नेपाल भूराजनीतिक दबाबमा परेको सानो राष्ट्रका रूपमा झनै कमजोर बन्दै गएको उनको भनाइ थियो ।
मुलुकको मूल समस्या परनिर्भर विकास मोडेल, दलाल पुँजीवाद र बिचौलिया तन्त्र रहेको उल्लेख गर्दै उनले बौद्धिक वर्ग र राजनीतिकर्मीलाई यी आधारभूत प्रश्न उठाएर निकास खोज्न आह्वान गरे । वर्तमान अवस्थाका लागि केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल जस्ता शीर्ष नेताहरू जिम्मेवार रहेको उनले आरोप लगाए ।
भुसालले राजनीतिक दलहरूको नेतृत्वमै मूल समस्या रहेको जिकिर गरे । नेपाली कांग्रेसभित्र गगन थापाको नेतृत्वले देउवाको विकल्प खोजिरहेको प्रसंग उल्लेख गर्दै उनले कम्युनिस्ट आन्दोलनभित्र पनि नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा राखे ।
‘कमरेड ओली र कमरेड प्रचण्डले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेको दिन लेफ्ट मुभमेन्ट एक सातामै एकजुट हुन्छ,’ भुसालले भने । नीति र सिद्धान्तका आधारमा विभाजन आवश्यक नभएको तर नेतृत्वको स्वार्थ र शक्ति संघर्षका कारण विभाजन भएको उनको तर्क थियो ।
प्रतिक्रिया