काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्ति सुरक्षाको कारणले निर्वाचन प्रभावित नहुने बताएका छन् ।
आयोगले सोमबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले शान्ति सुरक्षाबारे अनावश्यक शंका नगर्न आग्रह गरेका हुन् ।
भण्डारीले निर्वाचनमा शान्ति सुरक्षाका लागि करिब साढे पाँच लाख जनशक्ति परिचालन गरिने जानकारी दिए ।
२०४८ सालपछिका सबै निर्वाचन विभिन्न चुनौतीका बीच सफलतापूर्वक सम्पन्न गरिएको भन्दै उनले आगामी निर्वाचन पनि भयरहित ढंगले सम्पन्न हुने दाबी गरे ।
विगतमा पनि निर्वाचन हुन्छ कि हुँदैन भन्ने बहस अघिल्लो दिनसम्म चल्ने गरेको स्मरण गराउँदै उनले निर्वाचनबाहेक अर्को विकल्प नभएकाले तोकिएको समयमै चुनाव हुने प्रस्ट पारे ।
आयोगले शान्ति सुरक्षाको विषयमा सरकारका मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूसँग पटक–पटक छलफल गरिसकेको छ । सरकार र सुरक्षा निकायका प्रमुखहरूले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिएकाले यस विषयमा अब शंका–उपशंका गर्नुपर्ने अवस्था नरहेको भण्डारीको भनाइ छ ।
उनले विगतमा निर्वाचन बिथोल्ने शक्ति र हतियार बाहिर भएको अवस्थामा पनि निर्वाचन गराएको तर अहिले त्यस्तो गम्भीर खतरा आयोगले महसुस नगरेको बताए ।
भण्डारीले निर्वाचन व्यवस्थापनसम्बन्धी सम्पूर्ण काम आयोगले सम्पन्न गरेको जानकारी दिए । हाल राष्ट्रिय सभा सदस्यको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्ष तहको गरी तीन किसिमका निर्वाचनमा आयोग एकसाथ खटिएको छ ।
उनले समानुपातिकतर्फ सोमबार उम्मेदवारहरूले नाम फिर्ता लिने कार्यक्रम रहेको पनि बताए । द्वन्द्व र अस्थिरता भोगेको समाजलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढंगबाट निर्वाचन गराएर लोकतान्त्रिक बाटोमा ल्याउनुपर्ने आवश्यकता उनले औँल्याए ।
प्रतिक्रिया