+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीले कुलमानसहित तीन मन्त्रीलाई भनिन्–राजीनामा दिनुस्

फाइल तस्बिर
पालिका लाइभ
२०८२ पुष २२, मंगलवार

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन्।

मन्त्रिपरिषद्का केही सदस्यहरू सरकारी जिम्मेवारीभन्दा बढी राजनीतिक गतिविधिमा केन्द्रित भएको निष्कर्षसहित प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई पदबाट राजीनामा दिन सुझाएकी हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले नागरिक सरकारको मर्मविपरीत मन्त्रीहरू खुलेर राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै प्रश्न उठाएकी थिइन्।

बैठकमा प्रधानमन्त्रीले राजनीतिक गतिविधिमा संलग्न नहुने व्यक्ति मात्रै आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहनुपर्ने स्पष्ट सन्देश दिएको एक मन्त्रीले बताए। तीमध्ये पनि ऊर्जामन्त्री कुलमान घिसिङको राजनीतिक सक्रियताप्रति प्रधानमन्त्री विशेष रूपमा गम्भीर देखिएको बताइएको छ।

हालै घिसिङले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग मिसाएका थिए। सोही क्रममा रास्वपाले उनलाई उपाध्यक्षको जिम्मेवारी दिएको छ। यसले सरकारको नागरिक चरित्रमाथि प्रश्न उठाएको प्रधानमन्त्रीको बुझाइ रहेको बताइन्छ।

यस्तै, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पनि रास्वपाका गतिविधिमा सक्रिय रूपमा देखिँदै आएका छन् भने सञ्चारमन्त्री जगदीश खरेलले पनि आफ्नो स्वार्थअनुसार राजनीतिक गतिविधि गरिरहेको प्रधानमन्त्रीको निष्कर्ष छ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि नागरिक सरकारको अवधारणाअन्तर्गत कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ