काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समानुपातिक सूची बारे व्यापक असन्तुष्टि देखिएको छ ।
कलाकार, खेलाडी र कन्टेन्ट क्रियटरहरुलाई समावेश गरेर कार्यकर्तालाई उपेक्षा गरेको आरोप लागि रहेका बेला रास्वपा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पदाधिकारी र सचिवालय सदस्य समानुपातिकको सूचिमा बसेको भन्दै प्रश्न उठाएकी छन् । उनले पार्टीको महाअधिवेशन नभएसम्मका अवस्थामा आजको दिनसम्म पदाधिकारी या सचिवालय दुवै निर्वाचनबाट नबनेको उल्लेख गर्दै पार्टीभित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचिमा रहने भन्दै विरोध गरेकी छन् ।
तोसिमाले प्राईमेरी भोटिङकै धज्जी उडाउँदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने प्रवृत्ति पुराना दलभन्दा धेरै फरक नदेखिएको टिप्पणी गरेकी छन् ।
उनले पार्टीको पदाधिकारीमा रहनेले निर्वाचन लड्ने हिम्मत गर्नुपर्छ भन्दै सचिवालय सदस्य र पदाधिकारीहरू नै चुनाव लड्न डराउनुभयो भने अरूले के गर्ने ? भन्ने प्रश्न गरेकी छन् । साथै तोसिमाले पदाधिकारी तथा सचिवालय सदस्यहरूले आ-आफ्नो नाम समानुपातिकको सूचिबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ र समानुपातिकको सूचिमा आफन्तवाद र नातावादलाई पूर्ण रूपले निषेध गरिनुपर्ने माग गरेकी छन् ।
उनले भनेकी छन्:
समानुपातिक को अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरूले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सूचिले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सूचिले कर्णाली बोल्नुपर्छ। सुदूर पश्चिम बोल्नुपर्छ। सूचिले गाउँ बोल्नुपर्छ। तर पार्टीको नेतृत्वका आफन्तहरू र पार्टीको भाईटल पोस्टमा हुनेहरू नै समानुपातिक सूचिको लागी आकाङ्क्षि हुनु र त्यहीँ आफ्नो स्पेस बनाउनु/बनाउनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ। समानुपातिकले समावेश गराउनुपर्छ निषेध होइन !
फेरी विरोधी भएजस्तो सुनिएला तर पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरू भनेको सधैँ पोसिन अफ बेनिफिटमा हुन्छन्। चाहे प्राईमेरीको भोटिङमा होस् या ईभालुएसनमा। पार्टीको महाअधिवेशन नभएसम्मका अवस्थामा आजको दिन सम्म पदाधिकारी या सचिवालय दुवै निर्वाचन बाट बनेको होइन, पार्टी भित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचिमा ! त्यो पनि प्राईमेरी भोटिङकै धज्जी उडाउँदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृत्ति पुराना दलभन्दा धेरै फरक देखिएन ।
मैले सधैँ भन्ने गरेको छु र फेरी पनि भन्छु, पार्टीको भाईटल पोसिसनमा बस्ने साथीहरूले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ । अहिले त झन् पार्टी यति ठुलो भएको छ, साथीहरू किन डराउनुभएको ? कति असुरक्षित महसुस गर्नुभएको ? सचिवालय सदस्य र पदाधिकारीहरू नै चुनाव लड्न डराउनुभयो भने अरूले के गर्ने ? हामीले साँच्चिकै उदाहरणीय नेतृत्व गर्ने हो भने सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले आ-आफ्नो नाम समानुपातिकको सूचिबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ। साथै समानुपातिकको सूचिमा आफन्तवाद र नातावादलाई पूर्ण रूपले निषेध गरिनुपर्छ।
प्रतिक्रिया