काठमाडौं- सर्वोच्च अदालतको आदेशअनुसार दुर्गा प्रसाईँ रिहा भएका छन्।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो। सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेका अनुसार प्रसाईंलाई उनका छोरा निराजनको जिम्मा लगाएर रिहा गरिएको छ।
गत सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार प्रसाईँको अभिव्यक्तिका कारण सार्वजनिक शान्तिमा खलल परेको दाबी थियो। पक्राउपछि उनलाई ४ दिन हिरासतमा राखिएको थियो र त्यसपछि म्याद थप गरी ५ दिन थपिएको थियो।
तर, प्रसाईँको छोराले उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए। मंसिर ३ गते दर्ता भएको निवेदनमा ४ गते बिहीबार सुनुवाइ हुँदै अदालतले २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो।
प्रसाईँले आइतबारदेखि अनिश्चितकालीन आम हडताल र आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए। आन्दोलन रोक्न सरकारले उनलाई पक्राउ गरेको भए पनि नागरिक बचाउ महाअभियानले वार्ता प्रक्रिया अघि बढाएपछि शनिवार राति सरकार र प्रसाईँ समूहबीच वार्ता भएको थियो।
सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘निवेदक आबद्ध संस्थाका प्रतिनिधि र प्रधानमन्त्रीका सल्लाहकारबीच महाअभियान शान्तिपूर्ण ढंगले सञ्चालन गर्ने सहमतिसमेत भइसकेको परिवेशमा निवेदकविरुद्ध जारी पक्राउ पुर्जी र म्याद थप गर्नुको औचित्य समाप्त भएको देखिन्छ। यसकारण दुर्गाप्रसाद प्रसाईंलाई गैरकानुनी थुनाबाट तत्काल मुक्त गर्नू।’
आदेश अनुसार अदालतले रजिस्ट्रारको रोहबरमा कागज गरी छोराको जिम्मा लगाएर उनलाई रिहा गरेको हो।
प्रतिक्रिया