+
Search

ताजा अपडेट +

पपुलर +

ऐतिहासिक अस्पताल बन्द हुने जोखिममा:

सुशासनको धज्जी उठाउँदै आँपपिपल अस्पतालका निमित्त मेसु डा. मग्राती

तत्कालीन अस्पताल विकास समितिद्वारा नैतिक आचरण उल्लङ्घन र सेवा अनुशासनसम्बन्धी कारबाही भोगेकासमेत केही व्यक्तिलाई पुनः ‘उम्मेदवार’ बनाउने गरी सेटिङ मिलाइएको छ।

पालिका लाइभ
२०८२ कार्तिक २८, शुक्रबार

गोरखा– आँपपिपल अस्पतालले कात्तिक १३ गते विभिन्न ११ पदका लागि कर्मचारी माग गर्दै सूचना प्रकाशित गर्‍यो।

पाँच दशकअघि स्थापना भई अहिले प्रदेश सरकार मातहत सञ्चालनमा आएको यो अस्पताल वर्षौँदेखि जनशक्ति अभावले नै थप चुनौतीमा थियो। माग गरिएको पदमा मेडिकल अधिकृत, ल्याब टेक्निसियन, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, रेडियोग्राफी, फार्मेसी सहायक, अप्थालमिक सहायक र फिजियोथेरापी सहायकका लागि ३८ जनाले दरखास्त दिए। तर दर्खास्त खुलेसँगै अधिकांश पदहरूमा ‘सेटिङ’ अनुसार विज्ञापन निकालिएको तथ्य फेला परेको छ ।

समाचार स्रोतका अनुसार तत्कालीन अस्पताल विकास समितिद्वारा नैतिक आचरण उल्लङ्घन र सेवा अनुशासनसम्बन्धी कारबाही भोगेकासमेत केही व्यक्तिलाई पुनः ‘उम्मेदवार’ बनाउने गरी सेटिङ मिलाइएको छ। यस प्रकरणको केन्द्रमा अस्पतालका निमित्त मेसु डा. दीपेन्द्र मग्राती, डा. सुजन रोका र अन्य चिकित्सकहरूको भूमिका रहेको आरोप लगाइएको छ।

बिहीबार प्रकाशित पत्रमा उल्लेख भएअनुसार छात्रवृत्ति करारमा आठौँ तहमा कार्यरत डा. रोकाले आफ्नी बहिनी शकुन्तलालाई फार्मेसी सहायकका लागि आवेदन गराएका छन्। डा. रोका केही समयअघि अस्पतालका निमित्त मेसुसमेत बनेका थिए। खासमा उनी आठौँ तहको छात्रवृत्ति डाक्टरका रूपमा अजिरकाेट गाउँपालिकाको भच्चेक आधारभूत अस्पताल छनोट भएकाे थियाे। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णराज पाठकसँगको पारिवारिक सबन्धका कारण उनी आँपपिपलामा कार्यरत हुन पुगे ।

त्यस्तै, तत्कालीन विकास समितिद्वारा राजीनामा स्वीकृत गरिएकी डा. ईसा जिसी जाे विवादीत पात्र समेत हुन्, एसडिजिपि डा. सुनिल कुँवरकी श्रीमति हुन् । उनले पनि मेडिकल अधिकृतमा दर्खास्त दिएकी छन्। डा. कुवरलाई गण्डकी प्रदेश सरकारले केही दिनअघि मात्र बागलुङस्थित प्रदेश अस्पतालमा सरुवा गरेको थियो।

उनको ठाउँमा नबाै तहका डा. प्रचण्ड पौडेललाई आँपपिपलमा सरुवा गरिएको छ । मुख्यमन्त्री पाण्डेले उनलाई नयाँ मेसु बनाउन आँपपिपलामा पठाएकाे समाचार स्राेतकाे दाबी छ ।

याे पनि,

५२ बर्ष अघिकाे त्याे र अहिलेकाे ‘आँपपिपल अस्पताल’

यस्तै, विकास समिति तर्फबाट आठौँ तहमा कार्यरत पालुङटारका डा. पुकार पाण्डेले पनि मेडिकल अधिकृतमा आवेदन दिएका छन्। विगतमा अस्पतालको सम्पत्ति दुरुपयोग र सेवा हितविपरीत कार्य गरेको भन्दै कारबाहीमा परेका अप्थालमिक सहायक सुरैया रिजबी र फार्मेसी सहायक सुदिप कुमार शाहीले पनि पुनः पदपूर्तिमा प्रतिस्पर्धा गरेका छन्।

एक समय पश्चिमाञ्चलकै नमुना अस्पताल मानिएको आँपपिपल अस्पताल हाल जीर्ण अवस्थामा पुगेको स्थानीयको गुनासो छ। विशेषगरी नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारभित्रका मतभेद तथा पालुङटार क्षेत्रमा देखिएको राजनीतिक खिचातानीले अस्पताल नै ‘बन्द हुने जोखिम’ मा पुगेको आरोप छ। आर्थिक वर्ष सुरु भइसकेपछि अनिवार्य रूपमा औषधि आपूर्ति प्रक्रिया थाल्नुपर्ने अवस्थामा निमित्त मेसु डा. मग्रातीले आफ्नै नातेदार रामबाबु बयलकोटीको पोखरास्थित फार्मेसीमार्फत औषधि ल्याउने विषयमा सहमति नजुटेपछि सिटामोलजस्ता सामान्य औषधिसमेत अस्पतालमा उपलब्ध नभएको स्रोतको दाबी छ।

गत बुधवार मेसु डा. मग्राती पालुङटारका नेपाली कांग्रेसका सभापति विमल ढकालसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेट्न पोखरा पुगे। काठमाडौँबाट फर्केको केही दिनमै ‘पालिका लाइभमा आएको समाचारपछि’ उनीहरूले मुख्यमन्त्रीसँग अस्पतालमा समिति गठनदेखि कर्मचारी पदपूर्तिसम्बन्धी विषयमा मात्र छलफल गरेको बताइन्छ। स्थानीय बासिन्दा समेत रहेका मुख्यमन्त्री पाण्डेले अस्पतालका लागि आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिएको स्रोतले जनाएको छ।

तर पालुङटार भित्रको कांग्रेस गुटबन्दीले अस्पतालको नेतृत्व कसले सम्हाल्ने भन्ने विवाद चर्किँदा संस्थान नै अस्तित्व संकटमा परेको स्थानीयवासीको टिप्पणी छ। एक पक्ष अध्यक्ष बन्न तत्पर छ भने अर्को पक्ष ‘कुनै हालतमा अध्यक्ष नबनाउने’ अडानमा रहेकाले अस्पतालको दीर्घकालीन हित नै प्रभावित भएको आरोप छ।

याे पनि,

आँपपिपल अस्पतालमा चरम बेथिति: औषधि अभावमा सेवा नै बन्द हुने जोखिम

अहिले विवादको केन्द्रमा रहेका निमित्त मेसु डा. मग्राती पहिले पनि विवादित पात्र हुन्। करिब चार वर्षअघि सिरानचोक गाउँपालिकाको जौवारी स्वास्थ्य केन्द्रमा कार्यरत हुँदा त्यो समय कोरोना महामारीको चरम अवस्थामा उनीमाथि स्थानीयद्वारा सांस्कृतिक कारबाही गरिएको थियाे।

यसबारे प्रतिक्रिया लिन सम्पर्क गर्दा डा. मग्रातीले अस्पताल र व्यक्तिगत आरोपका विषयमा बोल्न अस्वीकार गरे। तर उनका विपक्षमा समाचार रोक्न उनले पोखरास्थित मेडिकल व्यवसायी बयलकोटीमार्फत दबाब दिँदै आएका छन् । बयलकोटीडा. मग्रातीकाे ससुरा हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ