+
Search

ताजा अपडेट +

पपुलर +

सिंहदरबार भित्रका कार्यालय सरसफाइमा जुट्न निजामती कर्मचारीको आह्वान

फाइल तस्बिर
पालिका लाइभ
२०८२ भाद्र २६, बिहीबार

काठमाडौं– पछिल्ला आगजनी र तोडफोडपछि ध्वस्त बनेको सिंहदरबारभित्र अब सरसफाइ अभियान सुरु भएको छ। यो अभियानमा अग्रसर भूमिका खेल्दै निजामती कर्मचारीहरूले आ-आफ्ना मन्त्रालय र निकायमा खटिन सामूहिक आह्वान गरेका छन्।

निजामती कर्मचारीहरूको ठुलो सञ्जाल ‘सार्वजनिक नीति संवाद’ मा बुधवारदेखि कर्मचारीहरूले पोस्ट गर्दै लेखेका छन्, ‘सिंहदरबारभित्रका सबै कर्मचारी सम्भव भएसम्म आफ्नो मन्त्रालय वा निकायमा उपस्थित भएर आजैदेखि सफाइमा खटौँ। फाइल, अभिलेख र कागजातको सुरक्षा हाम्रो पहिलो जिम्मेवारी हो।’

सर्वोच्च अदालतका कर्मचारीहरूले यसअघि नै सरसफाइ अभियान सुरु गरिसकेका छन्।

आगजनीबाट ध्वस्त भएको अदालतभित्र हाल विचाराधीन करिब २५ हजार मुद्दामध्ये ३ हजार फाइल संकलन गरिएको छ। तीमध्ये धेरैमा आंशिक क्षति पुगेको छ भने केही आधाजसो नष्ट भएको बताइन्छ।

सर्वोच्च अदालतको यो पहलपछि सिंहदरबारभित्रका अन्य निकायका कर्मचारीले पनि सक्रियता देखाउन थालेका हुन्।

तर सिंहदरबार परिसरमा सुरक्षाको जिम्मेवारी लिइरहेको नेपाली सेनाले त्यहाँ कार्यरत कर्मचारी बाहेक अन्यलाई प्रवेश नदिएकाले सरसफाइ अभियान ढिलो मात्र सुरु भएको हो। त्यसैले मन्त्रालयस्तरमै कर्मचारीहरूले समन्वय गरी आफैँले भग्नावशेष र फोहोर हटाउन थालेका छन्।

सिंहदरबार मुलुकको प्रमुख प्रशासनिक केन्द्र भएकाले यसको सरसफाइलाई अत्यावश्यक मानिएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयदेखि लिएर विभिन्न मन्त्रालय र विभाग त्यहीभित्र रहेका छन्। अहिले धुवाँ, धुलो र फोहोरका कारण कार्यालय सञ्चालन असहज बनेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ