+
Search

ताजा अपडेट +

पपुलर +

कारागार घटना प्रकरण : कैलालीका सिडिओ हमाल गृह तानिए

पालिका लाइभ
२०८२ श्रावण २८, बुधबार

काठमाडौं- गृह मन्त्रालयले दुई जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।

गृहमन्त्री रमेश लेखकको निर्देशनमा आज केही बेर अघि भएको निर्णयअनुसार कैलालीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगन हमाललाई मन्त्रालयमा तानिएको छ।

उनको स्थानमा दाङका प्रजिअ कृष्ण प्रसाद लम्साललाई कैलाली पठाइएको हो।

यस निर्णयको पृष्ठभूमिमा हालै कैलाली जिल्ला कारागारमा भएको गम्भीर घटना रहेको बताइएको छ।

कारागारभित्र कैदीबन्दी बीचको झडप र सुरक्षा व्यवस्थामा देखिएको कमजोरीका कारण एक कैदीको मृत्यु भएको र केही घाइते भएको प्रारम्भिक जानकारी सार्वजनिक भएको थियो। घटनापछि कारागारभित्रको सुरक्षा प्रबन्ध र प्रशासनिक नियन्त्रणमा व्यापक प्रश्न उठेको थियो।

स्थानीय स्रोतका अनुसार, उक्त झडपको कारण कारागारभित्र लुकीछिपी रहेका धारिला हतियार, कैदीबन्दीबीचको गुटबन्दी, र प्रशासनको निगरानीमा देखिएको कमजोरी हो।

घटनापछि पीडित पक्षका आफन्त, मानवअधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयलाई जबाफदेही हुन माग गरेका थिए।

गृहमन्त्री लेखकले घटनामा देखिएको प्रशासनिक लापरबाहीका लागि जिम्मेवारीको स्पष्टता आवश्यक ठान्दै हमाललाई गृह मन्त्रालयमा तान्ने निर्णय गरेका हुन्।

नयाँ प्रजिअ कृष्ण प्रसाद लम्साललाई तत्कालै कैलाली पुगेर कारागार सुरक्षा व्यवस्था सुधार्न र घटनाको विस्तृत छानबिनमा सक्रिय भूमिका खेल्न निर्देशन दिइएको छ।

मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई कारागार र सुरक्षासम्बन्धी संवेदनशील विषयमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ