विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले राजनीतिमा फैलिँदो भ्रष्ट्राचारको एउटा मूल कारण अत्यधिक चुनावी खर्च भएको बताएका छन्।
बिहीबार उद्योग संगठन मोरङद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले चुनाव सस्तो र पारदर्शी बनाउन सरकारले राजनीतिक दललाई आर्थिक सहयोग दिनुपर्ने सुझाव दिएका हुन्।
डा. वाग्लेले भने, ‘हामी सरकारले एक भोट बराबर एक सय रुपैयाँ दिनुपर्छ भन्ने नीतिमा छौँ। यसरी निर्वाचन खर्च राज्यले व्यहोर्ने हो भने उम्मेदवारलाई चन्दा उठाउनु नपर्ने हुन्छ, जसले भ्रष्ट अभ्यास घटाउँछ।’ उनले यो नीति पूर्वसचिव रामेश्वर खनालमार्फत आर्थिक प्रतिवेदनमा समावेश गराइएको तर बजेट बनाउँदा अर्थमन्त्रीले वास्ता नगरेको गुनासो पनि गरे।
उनले सत्ताधारी नेताहरूको खर्चप्रतिको तुजुक र स्रोतप्रति प्रश्न उठाए।
उनले रास्वपाका नेताहरू अत्यन्तै सीमित स्राेत र साधनमा काम गर्न बाध्य रहेको उल्लेख गरे। ‘मेरो तलब ६६ हजार रुपैयाँ हो। देउवा र गगन थापाको पनि यति नै हो। तर उनीहरू एकपटक जिल्ला जाँदा लाखौँ खर्च गर्छन्, हामीले भने हिँड्नुअघि पाँचपटक सोच्नुपर्छ ।’
डा. वाग्लेले नेपालको आर्थिक अवस्था अहिले अत्यन्तै जटिल मोडमा पुगेको उल्लेख गरे। ‘गणतन्त्र स्थापनापछि कुशासन र आसेपासे पुँजीवाद झनै व्यापक बनेको छ, जसले गर्दा देश पछाडि धकेलिएको छ,’ उनले भने ‘यदि अहिले पनि सुधार प्रक्रिया सुरु गरिएन भने नेपाल एसियाकै सबैभन्दा गरिब राष्ट्र बन्नेछ।’
उनले सत्तामा रहेका नेताहरू ‘के पाउँछु’ भन्ने स्वार्थमा केन्द्रित भएको र देशको दीर्घकालीन भविष्यबारे सोच्ने इच्छाशक्ति नरहेको आरोप लगाए। उनले नेपाली कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दलहरू भ्रष्टाचारमा डुबेको दाबी गर्दै सुधारका लागि नीतिगत र नैतिक रूपमै आमुल परिवर्तन आवश्यक रहेको बताए।
प्रतिक्रिया