+
Search

ताजा अपडेट +

पपुलर +

सामान्य प्रशासन मन्त्री गुप्ता भन्छन्- कर्मचारीहरू गुनासो पोख्न नेता लिएर सिंहदरवार आउँछन्

पालिका लाइभ
२०८१ मंसिर २७, बिहीबार

काठमाडौं– सघींय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आजदेखि सुरु गरेको ३९औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै उनले कर्मचारीले आफूलाई परेको समस्या सुनाउन आउँदा कुनै न कुनै नेता लिएर आउने गरेको बताए।

सरकारका मुख्यसचिव एकनारायण अर्यालसमेत सहभागी सो कार्यक्रममा उनले नेता बोकेर आफूलाई भेट्न आउने कर्मचारीबाट आजित भइसकेको बताए ।

‘मैले मन्त्रालय सम्हालेको पाँच महिना बितिसकेको छ,’ मुख्यसचिव अर्याललाई ध्यानाकर्षण गराउँदै उनले भने, ‘मुख्यसचिवजी साँच्चिकै मेरो कार्यकक्षमा आएर मलाई यस्तो समस्या पर्‍यो। यसरी हेरिदिनुहोस् भनेर कोही कर्मचारी आउनुहुन्न । जो पनि कर्मचारी आउनुहुन्छ एउटा न एउटा नेता बोकेरै आउनुहुन्छ । यो पीडाबाट म आफै ‘परिसान’ छु ।’

अब आउने ३९औँ ब्याचका कर्मचारीहरूले त्यस्तो हर्कत नदोहोर्‍याउनेमा आफू विश्वस्त रहेको मन्त्री गुप्ताको भनाइ छ । ‘कमसेकम तपाईँहरूको यो ब्याचले यो काम (नेता बोक्ने) गर्ने छैन । तपाईँहरू गर्नुहुन्न भन्ने विश्वास छ । राम्रा मात्रै कामका लागि तपाइहरूलाई धेरै–धेरै शुभकामना छ ।’

कर्मचारीले अध्ययनका साथै आफ्नो क्षमतामा विश्वास गरेर अघि बढ्नुपर्ने सुझाव उनको छ ।

आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको खण्डमा सुविधाहरू आफै प्राप्त हुने भदैँ उनले राम्रो काम गर्दा मात्रै सबैले सम्मान पाउनाका साथै देशको गरिमा समेत जोगिने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ