+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्रीलाई चुमनुब्रीकाे ज्ञापनपत्र, भने- उत्तरी नाका खोल्न कूटनीतिक पहल गर्छौँ

पालिका लाइभ
२०८० फाल्गुन ९, बुधबार

काठमाडाैं– कोभिड १९ महामारीपछि बन्द रहेको चुमनुब्री र तिब्बती सीमास्थित रुइला र ङुइला नाका नाका खुलाउन कूटनीतिक  पहल गर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आश्वासन दिएका छन् ।

गाउँपालिका अध्यक्ष निमा लामा नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नाका खुलाउने वातावरण बनाइदिन माग गरेका हुन् ।

सो नाका २०७६ सालदेखि बन्द छ । तिब्बती बजारमा गई दैनिक उपभोग्य बस्तु खरिद गर्न तथा सीमा वारपारका आफन्तहरू भेटघाट गर्नसमेत समस्या भएको स्थानीय बासीको गुनासो छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले नाका खुलाउनका लागि संवेदनशील भएर कूटनीतिक पहल गर्ने जनाएका थिए ।

जनप्रतिनिधिले पेस गरेको ज्ञापन पत्रमा मनासलु क्षेत्रमा लागु गरिएको निषेधित क्षेत्रले स्थानीय बासीलाई दैनिक जीवनयापनमा समेत दुष्प्रभाव पारेको भन्दै निषेधित क्षेत्रको व्यवस्था हटाइदिन माग गरिएको छ ।

सीमा क्षेत्रका सामागाउँ र छेकम्पारमा बोर्डर आउट पोस्ट(बि ओपी) स्थापना गर्न पनि माग गरिएको छ । चुम्चेत र बिहीमा प्रहरी चौकी स्थापना गर्न पनि ज्ञापन पत्रमार्फत स्थानीय बासीले माग गरेका छन् ।

एउटै समुदायको बाक्लो बसोबास रहेको स्थानलाई विशेष क्षेत्र घोषणा गर्न मिल्ने संवैधानिक व्यवस्था लागु गर्दै भोटे लामा समुदायको बसोबास रहेको चुमनुब्री गाउँपालिकालाई विशेष क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

चुमनुब्री ३ को देवल गाउँका ७६ घरधुरी र चुमनुब्री ६ को लोक्पा गाउँ पहिरोको अत्यधिक जोखिममा रहेकाले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न पनि जनप्रतिनिधिहरूले माग गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ