+
Search

ताजा अपडेट +

पपुलर +

सबै तहमा चुनावी गठबन्धन सम्भव छैनः उपेन्द्र यादव

पालिका लाइभ
२०७८ चैत्र ७, सोमबार

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आगामी स्थानीय तहको निर्वाचनमा सबै तहमा सत्तागठबन्धन मिलेर चुनाव लड्न सम्भव नभएको बताएका छन् ।

सत्तागठबन्धनमा रहेका नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले गठबन्धन चुनावसम्म कायम रहने बताइरहेका बेला जसपा अध्यक्ष यादवले भने सबै तहमा गठबन्धन मिलेर चुनाव लड्ने सम्भव नदेखिएको बताएका हुन् ।

सोमबार वीरगन्जमा पुगेका यादवले भने, ‘सबै तहमा गठबन्धन सम्भव छैन , जहाँजहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्छौं , जहाँजहाँ सम्भव हुँदैन त्यहाँ गठबन्धनका दलहरु एक्लाएक्लै मित्रवत ढंगले चुनाव लड्छौं । ‘

उनले आगामी स्थानीय तहको निर्वाचनमा सबै पालिकामा जसपाले एक्लै चुनाव लड्न सक्ने तागत राखेको पनि बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकारको साझा नीति तथा कार्यक्रम कार्यान्वयनका सवालमा बेइमानी गरिरहेको आरोप अध्यक्ष यादवले लगाए ।

साझा नीति तथा कार्यक्रममा उल्लेख नागरिकता ऐन सशंधोन , संविधान संशोधन , जनसंख्याको आधारमा हरेक निकायमा समानुपातिक प्रतिनिधित्वलगायतका बुँदा कार्यान्वयनमा प्रधानमन्त्री देउवाले चाँसो नै नलिएको यादवले बताए ।

उनले भने, ‘कांग्रेस अचम्मको पार्टी हो , सरकारमा जानुभन्दा पहिले जेजे भन्यो त्यसमा हस्ताक्षर गरिदिन्छ, तर सत्तामा पुगेपछि सबै बिर्सिन्छ । ‘अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली नै ठिक नरहेको भन्दै यसैका कारणले मुलुकको राजनीतिले स्थिरता पाउन नसकेको बताए ।

उनले भने,’ निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्छ , यसो भयो भने चुनाव लड्न र जित्न पैसा चाहिदैन । ‘मधेस जनविद्रोह र आन्दोलनले मधेसीलाई पहिचान दिएको दाबी पनि उनले गरे । अझै पनि मधेस र मधेसीले पूर्ण अधिकार पाउन नसकेको भन्दै उनले अधिकारका लागि जसपाले सडक र सदन दुवै ठाउँमा संघर्ष गरिरहेको बताए ।

नेपालका कम्युनिस्टहरु वास्तविक कम्युनिस्ट नभएको टिप्पणी गर्दै यादवले भने, ‘यहाँका कम्युनिस्टहरु नाम मात्रका कम्युनिस्टहरु हुन् , उनीहरुको धन्दा भने अर्कै छ । ‘एमाले अध्यक्ष केपी ओली पूर्वराजा महेन्द्र शाहको अनुयायी बनेको आरोप पनि उनले लगाए ।

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई जसपाका संघीय परिषद् अध्यक्ष एव‌ं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई , मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , सांसद प्रदीप यादव लगायतले सम्बोधन गरे।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ