+
Search

ताजा अपडेट +

पपुलर +

महाधिवेशनमा पराजित उम्मेदवारको गुनासो– कांग्रेस गोरखाको राजनीतिमा पैसा हाबी भयो

पालिका लाइभ
२०७८ कार्तिक १३, शनिबार

गोरखा– नेपाली कांग्रेस गोरखाका पुराना नेता तथा कार्यकर्ताले पार्टी भित्र बिचौलिया हाबी भएको बताएका छन् । १४औँ महाधिवेशनमा उम्मेदवार बनेर पराजित भएका नेता तथा कार्यकर्तासँगको बुधवार भएको छलफल कार्यक्रममा अधिकांश कार्यकर्ताले कांग्रेस भित्र बिचौलिया हाबी भएको बताएका हुन् ।

१४ औँ महाधिवेशनमा वडा, पालिका तथा क्षेत्रीय प्रतिनिधिमा धनाढ्यहरू हाबी भएको कार्यकर्ताले गुनासो गरेका हुन् । पैसाकै आडमा राजनीतिमा आएका अधिकांश बिचौलिया उम्मेदवार निर्वाचित भएको भन्दै महाधिवेशनमा पराजित भएका उम्मेदवारले कांग्रेस गोरखामा निष्ठा भन्दा पैसा हाबी भएको गुनासो गरेका हुन् ।

गुनासो गर्नेमा अधिकांश क्षेत्रीय प्रतिनिधिमा पराजित भएका उम्मेदवार छन् । कांग्रेसको आन्तरिक प्रतिस्पर्धामा त पैसाको खोला बगाएको भन्दै ती उम्मेदवारहरूले पैसा र बिचौलिया उम्मेदवार नभएको भए आफूहरू क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुने तर्क समेत गरेका छन् ।
काठमाडौंमा रहेर विभिन्न शङ्कास्पद धन्दा गर्नेहरू उम्मेदवार बनेको थिए ।

उम्मेदवारी दिएर निर्वाचित हुनेमा विवादास्पद छविका र पार्टीभित्रै बिचौलिया भनेर चिनिएका नेताहरू धेरै रहेका छन् । उनीहरूले पैसाकै आडमा कांग्रेस भित्र राजनीति गरेको भन्दै कांग्रेसका पुराना नेता तथा कार्यकर्ता महाधिवेशन प्रतिनिधिमा पराजित हुनुपरेको गुनासो भर्खरै निर्वाचित कार्यसमितिलाई साझी राखेर गरेका हुन् ।

लामो समय कांग्रेसकाे जिल्ला तहमा रहेर राजनीति गरेका सिरानचाेक गाउँपालिका-४ छाेप्राकका सिपी पोखरेले पार्टीमा नव धनाढ्य प्रवेश गरेको भन्दै नेतृत्वसँग विवेक भएन भने कार्यकर्तामा विचलन आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।

‘पार्टीमा नव धनाढ्य प्रवेश गरिसके, अहिले त क्रियाशील हुन्ने बित्तिकै महाधिवेशन प्रतिनिधिमा उठेका छन्, त्यहाँ काम के गर्ने, भूमिका के भन्ने पत्तो छैन’ उनले भने ‘चुनाव जितेका साथीहरूले पार्टीका लागि योगदान गर्नुहोस्, निर्वाचनमा पनि आफैँ जाने होइन ।’

कांग्रेस गोरखाका पुराना नेता रामप्रसाद लामिछानेले कांग्रेस धनीको पार्टी हो कि गरिबको पार्टी हो ? बिपीको समाजवाद यो होइन होला भन्दै प्रश्न गरे । ‘कांग्रेस धनीको पार्टी हो कि गरिबको’ उनले प्रश्न गर्दै भने ‘कसका लागि त्यति धेरै तामझाम गरेर पैसा खर्च गरेको ? बिपीको समाजवाद यो होइन होला ।’

बारपाक-सुलिकाेट गाउँपालिकाका तथा क्षेत्रीय महाधिवेशनमा पराजित भएका हरि देवकोटाले पार्टी तिन तहको निर्वाचनमा केन्द्रित हुनु पर्याे भन्दै वैचारिक रूपमा पार्टीले हरेक क्षेत्रमा काम गर्नुपर्ने तर्क राखे । ‘अब हामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा केन्द्रित हुनुपर्छ’ उनले भने ‘वैचारिक दृष्टिकोणले मात्र सबैलाई पार्टी भित्र समेट्न सकिँदैन, सामाजिक रूपमा पनि पार्टीले काम गर्नुपर्छ ।’

अन्तर्क्रियामा धारणा राख्ने अधिकांशले निष्ठावान् र पार्टीमा योगदान गरेका व्यक्तिहरूको मूल्याङ्कन गर्न नसकेको भन्दै महाधिवेशनमा शीर्ष नेताहरूले गुट उपगुट, आफू निकटका काखी च्यापेको आरोप लगाए । अबको निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने सबैलाई समेटेर अघि बढ्नुपर्ने, क्षमता भएकाहरूलाई पार्टीले काम गर्ने ठाउँ दिनुपर्नेमा अधिकांशको जोड थियो ।

कांग्रेसका केन्द्रीय सदस्यहरू सुरेन्द्र पाण्डे, कमला पन्तलगायतको उपस्थिति निर्वाचनमा पराजित उम्मेदवारले कांग्रेस पार्टी हामी सबैको भएको र आन्तरिक निर्वाचनमा तड्क भडक र पैसाको बलमा राजनीति नगर्न अनुरोध समेत गरेका थिए । अन्तर्क्रियामा उठेका प्रश्नको जवाफ दिदैं जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले महाधिवेशन पार्टी भित्रको आन्तरिक चुनाव भएकाले पराजित भएका उम्मेदवारको सुझाव लिन अन्तर्क्रिया गरेको भन्दै सबैको सल्लाहमा पार्टीको गतिविधि अगाडी बढाउने विश्वास दिलाए ।

‘पार्टी भित्रको आन्तरिक चुनाव भएकाले विजयी हुन नसकेका साथीहरूको सुझाव लिन पहिलो बैठक उहाँहरू सँग गरेका हौँ’ उनले भने ‘अब हामी सबै मिलेर जनताका लागि, कांग्रेसका लागि काम गर्ने हो ।’ उनले कांग्रेसलाई बलियो बनाउन जित्ने, हार्ने सबैको भूमिका बराबर हुने भन्दै चुनाव एउटा प्रक्रिया भएको र हार जित अवश्य हुने तर्क राखेका थिए ।

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गोरखामा भाद्र १८–१९ गते वडा, असोज ९ गते पालिका, १२ गते प्रदेश क्षेत्र, १५ र १६ गते संघीय क्षेत्र, १८–१९ मा जिल्ला कार्यसमितिका लागि निर्वाचन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ