+
Search

ताजा अपडेट +

पपुलर +

उपत्यकामा अब लकडाउन नगरिने, यस्तो छ अर्को तयारी

पालिका लाइभ
२०७७ आश्विन ४, आईतवार

काठमाडौं- कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै लामो समयसम्म लकडाउन र निषेधाज्ञा गरेपछि आलोचित बनेको सरकार अब उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा पुगेको छ।

लकडाउनको विकल्पका रुपमा उपत्यकाको भीडभाड हुने स्थानमा पहिलो चरणमा एक सय युवा स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन्।

स्वास्थ्य मन्त्रालय, राष्ट्रिय युवा परिषद् र उपत्यकाका सबै स्थानीय तहका प्रतिनिधिबीच हालै सम्पन्न बैठकले बढी भीडभाड हुने समयमा दशैं लक्षित युवा परिचालन गर्ने निर्णय गरेको हो । परिषद्ले युवा स्वयंसेवक छनोट गर्ने, स्वास्थ्य मन्त्रालयले परिचालन गर्नुअघि तालिम दिने जिम्मेवारी तोकेको छ।

छनोटमा परेका युवा स्वयंसेवकलाई काठमाडौं र ललितपुरसहित उपत्यकाका १८ स्थानीय तहको छनोट गरेका भीडभाड हुने स्थानमा परिचालन गर्ने भएको छ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि युवा परिचालन गर्न लागेको जानकारी दिए। परिषद्ले छनोट गरेका युवालाई स्वास्थ्य मन्त्रालयले तालिम दिने उनले बताए। ‘तीन दिनभित्र स्वयंसेवक छनोट गर्नेछौँ। ७ गतेबाट तालिम दिएर ९ गतेबाट खटाउने छौं,’ उनले भने।

युवा परिचालन गर्नुअघिको स्वास्थ्य मापदण्डबारे मन्त्रालयले, युवा परिचालन कार्यविधि परिषद्ले र परिचालन गर्ने स्थानको बारेमा स्थानीय तहले कार्ययोजना बनाउने ढुंगेलले बताए।

मन्त्रालयले पहलो चरणमा नमुनाका रुपमा सय र त्यसपछि थप संख्यामा युवा परिचालन गर्ने तयारी गरेको छ । ढुंगेलले सरकारको आग्रहअनुसार कोरोना संक्रमणलाई नियन्त्रण गर्न र लकडाउनको विकल्पका रुपमा स्वयंसेवक परिचालनलाई उच्च प्राथमिकताका रुपमा लिएकोले परिषद्ले युवा स्वयंसेवक तयारी गरेको बताए।

पहिलो चरणमा यही असोज ९ गतेदेखि कातिक ७ अर्थात् फूलपातीको दिनसम्म स्वयंसेवक परिचालन हुनेछन्। ती स्वयंसेवकले राजधानीको भीडभाड हुने क्षेत्रमा काम गर्नेछन्।

राजधानीका नयाँ बसपार्क, असन, इन्द्रचोक, बल्खु, कोटेश्वर, कालिमाटी तथा फलफूल बजार, रत्नपार्क, न्युरोड, ललितपुरको लगनखेल, विभिन्न सपिङ मल, खसीबजार, खाद्य संस्थान, भक्तपुर, मध्यपुर, थानकोट, कलंकीलगायत भीडभाड हुने सबै क्षेत्रमा परिचालन गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ