गोरखा– पालुङटार नगरपालिका-७ च्याङ्ली विरुवाटारमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । गोरखा र तनहुँ जिल्लाको सिमाना भए पनि प्रहरी चौकी नहुँदा समस्या भएको भन्दै स्थानीयले बारम्बार चौकी राख्न माग गर्दै आएका थिए ।
गाउँमा प्रहरी चौकी नहुँदा लागू औषध दुर्व्यसनीसँगै आपराधिक क्रियाकलाप बढेको स्थानीयको गुनासो थियो । बढ्दो आपराधिक क्रियाकलाप र स्थानीयको मागलाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी विमल बस्नेतले बताए ।
प्रहरी पोस्टको मंगलवार एक कार्यक्रमका बीच गोरखा प्रहरी प्रमुख एसपी बस्नेतले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले शान्ति सुरक्षा कायम राख्नका निम्ति प्रहरीलाई स्थानीयले सहयोग गर्नुपर्ने बताए । पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले प्रहरी पोस्ट स्थापना भएसँगै शान्ति सुरक्षाको अनुभूति हुने बताइन् ।
प्रहरी चौकी स्थापना सँगै आपराधिक गतिविधि कम हुने विश्वासमा स्थानीयहरू खुसी भएका छन् । यसअघि यस स्थानमा प्रहरी चौकी नहुँदा इलाका प्रहरी ठाँटीपोखरी, तनुहँकाे डुम्रे ,नयाँ पुल हुँदै बिरुवाटारसम्म आइपुग्नुपर्दा स्थानीयहरू मर्कामा परेका थिए ।
अस्थायी प्रहरी चौकी उद्घाटनको क्रममा पालुङ्टार नगरपालिकाकी उप प्रमुख पम्फा बस्याल, वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठ, , इलाका प्रहरी कार्यालय ठाँटी पोखरीका प्रहरी निरीक्षक रोशनराज पाण्डेय लगायतका व्यक्तिहरूले चौकी स्थापनासँगै विकासको बाटो खुला भएको बताएका थिए ।
हाल १ वर्षका लागी पालुङ्टार नगरपालिका कार्यालयले भाडा तिर्ने गरी स्थानीय नवीन कुमार श्रेष्ठको घरमा चौकी स्थापना गरिएको छ । कार्यक्रममा बोल्दै नगर उप प्रमुख पम्फा बसेलले चौकीलाई स्थायीमा परिणत गर्न सबै क्षेत्रबाट पहल गर्नुपर्ने बताइन्। सोही क्रममा अव न्यायिक समितिको कार्यसम्पादनमा पनि यस वडामा सहज हुने विश्वास व्यक्त गरिन् ।
वडाध्यक्ष श्रेष्ठले आफूहरूले चौकी स्थापनाको लागी धेरै अघिदेखि पहल गरेको र हाल चौकी स्थापना भएकोमा खुसी व्यक्त गरे। सोही अवसरमा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी बस्नेतले प्रहरी चौकीको स्थायित्वको लागी स्थानीयबासीहरु सजग हुनुपर्ने बताए ।
यस स्थानमा चौकी स्थापनाको लागी ३ महिनाअघि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अधिकारी, जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी विमल बस्नेत लगायतको टोलीले स्थलगत अध्ययन गरी छिटै चौकी स्थापना गर्ने बचन दिए लगत्तै चौकीको लागी घरको व्यवस्था गरिएको थियो ।
प्रतिक्रिया