गोरखा– कामको जिम्मा लिने ठेकेदारको बदमासीका कारण गोरखा– बारपाक सडक कालोपत्रे गर्ने काम अलपत्र भएको छ ।
४६ किलोमिटर लामो सो सडक भूकम्पपछि दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो तर अहिलेसम्म नौ किलोमिटर मात्र कालोपत्रे भएको सडक योजना कार्यालयले जनाएको छ ।
नौदेखि १७ किलोमिटर, २२ देखि ३० किलोमिटर र ३० देखि ४६ किलोमिटरको तीन वटा प्याकेजको काम अलपत्र रहेको सडक योजना कार्यालयका प्रमुख इन्जिनियर अमृतमणि रिमालले जानकारी दिए । काम नगर्ने ठेकेदारलाई ताकेता गर्न खोज्दा ठेकेदारहरूले ‘ठुलाबडा’बाट सोर्सफोर्स लगाउने गरेको उनले बताए ।
‘ताकेताका लागि केही दिनअघि पत्रपत्रिकामा नाम प्रकाशित गरेको थिएँ, अहिले बिहानैदेखि ठुला मान्छेहरूको फोनले हैरान छु’ रिमाल भन्छन् ‘तर कसैले केही भनेर हुनेवाला छैन । लोभ नगरेपछि कसैसंग डराउनु पर्दैन । काम गर्न कसैले त हिम्मत गर्नु पर्ने रहेछ । म अघि बढिसकेँ ।’
फोन गरेर हैरान बनाउने ‘ठुला’हरू भने उनले खुलाउन चाहेनन् । बारपाक सडक कालोपत्रेको काम अहिलेसम्म २० प्रतिशत प्रगति पनि नभएको प्रमुख इन्जिनियर रिमालले बताए । नौ किलोमिटरदेखि १७ किलोमिटरसम्मको आठ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का नागार्जुन, त्रिशूली जेभी निर्माण कम्पनीले ठेक्का पाएको थियो । गत चैत महिनामा कालोपत्रे गरिसक्नु पर्नेमा सम्झौतामा उल्लेख थियो ।
अहिलेसम्म ६५ प्रतिशत मात्र भएको कार्यालयले जनाएको छ । ‘अहिले काम ठप्प प्राय छ’ प्रमुख इन्जिनियर रिमाल भन्छन् ‘१० करोड मध्य पैसा पनि छ करोड रुपियाँ मात्र निकासा भएको छ ।’ त्यस्तै २२ देखि ३० किलो मिटरभित्रको आठ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का लिएको लोहनी एन्ड ब्रदर्श निर्माण कम्पनीको काम १८ प्रतिशत मात्र भएको छ ।
दुई वर्षअघि १० करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । तर अहिलेसम्म एक करोड ९४ लाख मात्र भुक्तान भएको कार्यालयले जनाएको छ ।
सबैभन्दा ठुलो ३० किलोमिटरदेखि ४६ किलोमिटरसम्म प्याकेजको काम २० प्रतिशत मात्र प्रगति भएको छ । रसुवा सूर्य एलाइड जेभी कम्पनीले सो काम दुईबर्षभित्र सम्पन्न गर्न २०७३ सालको असारमा सम्झौता गरेका थिए । ३१ करोड रुपियाँको सो कामको तीन करोड रुपियाँ मात्र भुक्तानी भएको कार्यालयले जनाएको छ ।
‘८० प्रतिशत समय सकिँदासम्म ८० प्रतिशत काम सम्पन्न नगर्नेको पेस्की रकम फिर्ता लिन वैंकलाई पत्राचार गरिसकेको छु’ उनले भने ‘यति दबाब दिँदा पनि अटेरी गरेर काम डामाडोल बनाएमा कालोसूचीका लागि प्रक्रिया अघि बढाउँछु ।’
कार्यालयले गत पुस ५ गते ताकेताका लागि ठेकेदारहरूको नाम पत्रिकामा प्रकाशित गरिसकेको छ । साना योजनाको काम धमाधम भइरहेको तर ठुला योजना अलपत्र हुने गरेका सडक योजना कार्यालयले जनाएको छ ।
प्रतिक्रिया