काठमाडाैं- नेपाली कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनका निष्ठावान शिखर व्यक्तित्व श्रीनाथ अधिकारीको बिषयमा लेखिएको ‘श्रीनाथ अधिकारी(क.श्याम) स्मृति ग्रन्थ’ विमोचन गरिएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले स्वर्गीय अधिकारीको तेस्रो स्मृति दिवसको अवसर पारेर स्मृति ग्रन्थको विमोचन गरेका हुन् ।
क्रान्तिकारी माओवादीको केन्द्रीय समितिले प्रकाशन गरेको स्मृति ग्रन्थ इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहल, काठमाडाैंमा एक कार्यक्रमकावीच बिमोचन गरिएको हो ।
सो स्मृतिग्रन्थमा पार्टी महासचिव किरण, नेताहरु सिपी गजुरेल, रामसिंह श्रीस, हरिभक्त कँडेल, इन्द्रमोहन सिंग्देललगायतका नेताहरुको संस्मरण लेखहरु रहेका छन् ।

ग्रन्थको पहिलो खण्डमा स्वर्गीय श्यामको संक्षिप्त जीवनी, दोस्रो खण्डमा उनीसँग सहकार्य गरेका नेताहरु, सहयोद्धाहरु, परिवारका सदस्यहरुको संस्मरणात्मक लेखहरु र तेस्रो खण्डमा उनको विषयमा भएको अन्तरक्रियात्मक कार्यक्रम, श्रद्धाञ्जली, समवेदना पत्र र तस्बीरहरु समेटिएका छन् ।
प्रस्तुत स्मृतिग्रन्थमा क्रान्तिकारी माओवादी पार्टीका पोलिटव्यूरो सदस्य अधिकारीले देश जनता, क्रान्ति तथा पार्टीको निम्ति गरेका काम र योगदानहरुको अभिलेख रहेको महासचिव किरणले उल्लेख गरेका छन् ।
यो स्मृतिग्रन्थ पार्टीका नेता, कार्यकर्ता तथा सम्पूर्ण सदस्यहरु, शुभेच्छुकहरु र देश, जनता, क्रान्ति तथा कम्युनिस्टप्रति आस्थावान सबैका लागि विशेष पठनीय तथा संग्रहणीय दस्तावेज रहेको उनले बताएका थिए।
कार्यक्रममा माओवादीका नेताहरु गजुरेल, श्रीस, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, स्वर्गीय श्यामकी जीवनसंगिनी राधिका अधिकारी, छोरा नारायण अधिकारी, क्रान्तिकारी संयुक्त मोर्चा, नेपालका नारायण शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया