काठमाडौं– तिब्बती क्षेत्रमा पुनः ताल फुटेको सूचना आएपछि नेपाल प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दा तथा उद्धार र राहतमा खटिएका सुरक्षाकर्मीलाई सतर्क रहन आग्रह गरेको छ ।
चिनियाँ पक्षबाट ताल फुटेको सूचना आएपछि रसुवाको भोटेकोशी र त्रिशूली नदी आसपासमा उच्च सतर्कता अपनाइएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट थुनिएको ताल फुटेको जानकारी आएको बताए ।
‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ,’ प्रजिअ परियारले भने ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भोटेकोशी नदीमा लेदोसहित पानीको बहाव बढिरहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार १० भदौमा ठूलो बाढी आएको भोटेकोशी नदी क्षेत्रमा शुक्रवार पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको छ । यससँगै थप बाढी आउन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ ।
भोटेकोशी तथा त्रिशूली नदी किनारमा रहेका नागरिक, उद्धार तथा राहतमा खटिएका व्यक्ति र अन्य कारणले जोखिम क्षेत्रमा रहेकालाई सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ । जोखिमको अवस्था देखिए तत्काल सुरक्षित स्थानमा जानसमेत भनिएको छ ।
प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतले शुक्रवार जारी गरेको सूचनामार्फत सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेकी हुन् ।
प्राधिकरणले नदीको बहावमा आउने परिवर्तनलाई गम्भीरतापूर्वक लिन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्नसमेत आग्रह गरेको छ ।
प्रतिक्रिया