काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज (शुक्रवार) पनि सूचना जारी गरी भदौ १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ठुलो ताल बनेको र फुट्ने जोखिम रहेकाले भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका रहेकाहरूलाई विशेष सतर्कता अपनाउन सुझाव दिएको छ।
बाढी महाशाखाका अनुसार २०८३ भदौ १० गते भोटेकोसी (रसुवा) मा आएको बाढीपश्चात् हाल भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल नै छ तर अझै उच्च सतर्कता अपनाउन आवश्यक छ।
बाढी महाशाखाले चेतावनी दिँदै अगाडि भनेको छ, ‘चीन सरकारबाट प्राप्त सूचनाअनुसार, भूउपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार, भाद्र १० मा बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको र उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिमसमेत देखिएको हुँदा अर्को सूचना जारी नहुँदासम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिनुहुने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिन्छ।’
साथै आज पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, दैलेख, अछाम र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।
प्रतिक्रिया