काठमाडौं– शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा बैंकले १ अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.९६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद नाफा ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ रहेको थियो।
बैंकको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ। गत असार मसान्तसम्म बैंकले २ अर्ब ८२ करोड ६७ लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ६४ करोड ४३ लाख ५९ हजार रुपैयाँको तुलनामा ६.८९ प्रतिशत बढी हो।

समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३१ करोड १६ लाख ४७ हजार रुपैयाँ पुगेको छ। यस्तै कुल सञ्चालन आम्दानी ३ अर्ब १६ करोड ७९ लाख १२ हजार रुपैयाँ तथा सञ्चालन नाफा १ अर्ब ७३ करोड ७८ लाख ७३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कुल सञ्चालन आम्दानी २ अर्ब ९७ करोड ७७ लाख ५५ हजार रुपैयाँ र सञ्चालन नाफा ९१ करोड ११ लाख १५ हजार रुपैयाँ थियो।
बैंकको वितरणयोग्य नाफा ८४ करोड ६४ लाख ९८ हजार रुपैयाँ पुगेको छ। यसका आधारमा बैंकको लाभांश वितरण क्षमता १६.८६ प्रतिशत रहेको देखिन्छ। हाल ५ अर्ब २ करोड १९ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १४ करोड ८ लाख २१ हजार रुपैयाँ सञ्चित रहेको छ।
व्यवसाय विस्तारतर्फ पनि बैंकले सकारात्मक वृद्धि हासिल गरेको छ।
गत असारसम्म बैंकको निक्षेप संकलन ८.४७ प्रतिशतले बढेर ७७ अर्ब ८५ करोड २६ लाख ६२ हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी ११.१७ प्रतिशतले वृद्धि भई ६३ अर्ब २६ करोड ७७ लाख ७८ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष सोही अवधिमा बैंकले ७१ अर्ब ७६ करोड ७१ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९० करोड ७१ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो। समीक्षा अवधिमा बैंकको निक्षेप–कर्जा अनुपात ८४.१८ प्रतिशत रहेको छ।
बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष १३.२४ रुपैयाँ रहेको ईपीएस समीक्षा अवधिमा बढेर २३.५२ रुपैयाँ पुगेको छ। यस्तै, बैंकको मूल्य-आम्दानी अनुपात १७.६४ गुणा तथा प्रतिसेयर नेटवर्थ १५९.४८ रुपैयाँ रहेको छ।
यद्यपि, बैंकको खराब कर्जा भने केही बढेको छ। अघिल्लो वर्ष ४.२७ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा बढेर ४.९३ प्रतिशत पुगेको बैंकको वित्तीय विवरणमा उल्लेख छ।
प्रतिक्रिया