+
Search

ताजा अपडेट +

पपुलर +

दुई सातामै खरिदारदेखि उपसचिव तहसम्मका ९ कर्मचारी घुससहित रंगेहात पक्राउ

पालिका लाइभ
२०८३ श्रावण १९, मंगलवार

काठमाडौं– साउन महिनाको पहिलो १८ दिनमै खरिदारदेखि उपसचिव तहसम्मका नौ जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीसँग घुस लिने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पछिल्लो घटनामा अख्तियारले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। आयोगका अनुसार भुक्तानी भइसकेको काममा कमिसन नदिएको भन्दै सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस मागेको सूचनाका आधारमा खटिएको टोलीले सोमबार बालाजुबाट उनलाई नियन्त्रणमा लिएको हो।

तामाङको साथबाट घुसको एक लाख रुपैयाँसँगै स्रोत नखुलेको थप पाँच हजार रुपैयाँ पनि बरामद भएको अख्तियारले जनाएको छ।

साउन लागेयता अख्तियारले सञ्चालन गरेको विशेष निगरानीका क्रममा विभिन्न कार्यालयका कर्मचारी घुस लेनदेनमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।

गत शुक्रवार मात्रै भूमि प्रशासन कार्यालय, लगनखेलका तीन जना नायब सुब्बासहित पाँच जनालाई जग्गाको बकसपत्र गराइदिने नाममा सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट पक्राउ गरिएको थियो। पक्राउ पर्नेमा नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवाल रहेका छन्।

यसअघि झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार साह सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गर्न १० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका थिए।

त्यस्तै, भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी बोरिङ तथा मोटर जडानको भुक्तानी गराइदिने क्रममा सेवाग्राहीबाट सात लाख ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा सरकारी क्वार्टरबाट पक्राउ परेका थिए।

यस्तै, काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराई स्थायी लेखा नम्बर (प्यान) बन्द गराइदिने क्रममा २१ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका थिए भने आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एमएस पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारको नियन्त्रणमा परेका छन्।

सरकारले चालु आर्थिक वर्षदेखि निजामती कर्मचारीको तलब वृद्धि गरे पनि दुई साताको अवधिमा विभिन्न तहका कर्मचारीहरू घुस प्रकरणमा पक्राउ परेकाले सार्वजनिक सेवा प्रवाहमा सुशासनमाथि पुनः प्रश्न उठेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ