रौतहट– मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर नगरपालिकाको बजेट कार्यान्वयनमा अवरोध सिर्जना गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएकी छन्।
सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बजेट कार्यान्वयन तथा भुक्तानीको महत्त्वपूर्ण समयमा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नखटाइएकाले स्थानीय तहलाई अन्योलमा पार्ने र बजेट फ्रिज गराउने नियत देखिएको बताइन्।
उनका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुरेशबाबु घिमिरेलाई मौलापुरमा पठाएको थियो। तर उनले जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेपछि मन्त्रालयले फिर्ता बोलाएको भए पनि हालसम्म अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाएको उनको दाबी छ।
मेयर साहले नगरपालिकाले सञ्चालन गर्दै आएका ‘फ्रि बिजुली’, ‘फ्रि पानी’ र ‘छोरीसँग मेयर’ लगायतका जनमुखी कार्यक्रमको भुक्तानी रोक्न संघीय सरकारबाट अनावश्यक तथा गैरकानुनी हस्तक्षेप भइरहेको दाबी गरिन्।
उनले प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण कृषक अनुदान, बहुपोषण कार्यक्रम, शिक्षा, स्वास्थ्य तथा सरसफाइसँग सम्बन्धित सेवा–प्रवाहसमेत प्रभावित हुने अवस्था सिर्जना भएको बताइन्।
मेयर साहका अनुसार सर्वोच्च अदालतले मौलापुरले विगत आठ वर्षदेखि उपलब्ध गराउँदै आएको सिँचाइ, घरायसी विद्युत् तथा खानेपानी शुल्क छुट सुविधा तत्काल नरोक्न अन्तरिम आदेश जारी गरिसकेको छ।
प्रशासन मन्त्रालयले सुरेशबाबु घिमिरेलाई गत चैत १६ गते मौलापुरमा नयान् प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेको थियो। मेयर साहका अनुसार उनी तीन महिनाको अवधिमा करिब २० दिन मात्र कार्यालयमा उपस्थित भएका थिए। त्यसपछि मन्त्रालयले उनलाई फिर्ता बोलाए पनि हालसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको छैन।
प्रतिक्रिया