+
Search

ताजा अपडेट +

पपुलर +

बजेटप्रति बाबुराम भट्टराईको टिप्पणीः प्रस्तुति र शब्द आकर्षक, गहिराइमा पुरानै ढाँचा

फाइल तस्बिर
पालिका लाइभ
२०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सुन्दा शब्द र प्रस्तुति निकै नयाँ र आकर्षक भएपनि गहिराइमा गएर हेर्दा क्रमभंगता अनुभूति नहुने टिप्पणी गरेका छन्।

‘गाउँको आँगनमा बसेर विद्वान अर्थमन्त्रीको बजेट भाषण सुन्दा निकै रोमान्चक अनुभूति! शब्द र प्रस्तुति निकै नयाँ र आकर्षक छ! नीतिगत रुपमा नयाँ प्रविधीमैत्री पुस्ता, निजी क्षेत्र, विदेशमा बस्ने नेपाली, कर्मचारी आदिलाई बढी आकर्षित गर्ने खालको पनि छ’, उनले फेसबुकमा लेखेका छन्।

व्यक्तिगतरूपमा बुढीगण्डकी परियोजना लामो अन्योल र आशंका पछि आफूले प्रस्ताव गरेझैँ ‘अधिकारसम्पन्न प्राधिकरण’ मार्फत निर्माण गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धताले सन्तोष मिलेको बताएका छन्।

तर, गहिराइमा गएर बजेटको समग्र संरचनात्मक ढाँचा आय–व्ययको अनुपात, राजस्वको स्रोत, क्षेत्रगत विनियोजन, वित्तीय संघीयता आदि हेर्दा निरन्तरतामा क्रमभंगता खाशै दृष्टिगोचर हुन्न भन्दै भट्टराईले टिप्पणी गरेका छन्।

‘त्यसैले यत्तिकैमा बजेट वक्तव्यमा भनिए जस्तो ‘संरचनात्मक सुधारको नयाँ चरण’ कसरी पूरा होला र? तैपनि शुभकामना!’ भट्टराईले लेखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ