काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ मा देशको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्यांकअनुसार बागमती र गण्डकी प्रदेश मात्रै राष्ट्रिय औसतभन्दा माथि रहने देखिएको हो।
प्रतिवेदनअनुसार बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च ५.४० प्रतिशत रहने अनुमान छ भने गण्डकी ५.०१ प्रतिशतसहित दोस्रो स्थानमा रहनेछ। अन्य प्रदेशको वृद्धिदर भने तुलनात्मक रूपमा कमजोर देखिएको छ।
कोशीको ३.१३ प्रतिशत, मधेसको १.३१ प्रतिशत, लुम्बिनीको २.८७ प्रतिशत, कर्णालीको २.९४ प्रतिशत तथा सुदूरपश्चिमको ३.२८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
गत वर्षको तुलनामा बागमती, गण्डकी, कोशी र सुदूरपश्चिममा सुधार देखिए पनि मधेस, लुम्बिनी र कर्णालीमा गिरावट आएको छ। विशेषगरी मधेसको वृद्धिदर ४.४३ प्रतिशतबाट घटेर १.३१ प्रतिशतमा झर्नु चिन्ताको विषय बनेको छ।
राष्ट्रिय अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै ३६.७ प्रतिशत रहनेछ।
प्रतिव्यक्ति आयतर्फ पनि बागमती अग्रस्थानमा रहेको छ। यहाँ प्रतिव्यक्ति आय २ हजार ६ सय ४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने मधेस सबैभन्दा पछाडि देखिएको छ।
प्रतिक्रिया