काठमाडाैं– बैंकिङ प्रणालीमा अनधिकृत प्रवेश गरी ग्राहकको खाताबाट १ करोड ६५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) कै एक जना कर्मचारीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बैंकका कर्मचारीले नै बैंकिङ प्रणालीमा प्रवेश गरी ग्राहकहरूको मोबाइल नम्बर परिवर्तन गरेर रकम हिनामिना गरेको खुलेको भेटाएपछि पक्राउ गरेको हो ।
प्रहरीका अनुसार विभिन्न मिति तथा समयमा बैंकका कर्मचारीले ग्राहकहरूको मोबाइल नम्बर परिवर्तन गरी आफ्नो प्रयोग गर्ने मोबाइल नम्बर खातामा राखेका थिए ।
त्यसपछि मोबाइल बैंकिङ तथा कनेक्ट आईपीएसमार्फत ट्रान्जेक्सन अलर्टसमेत नहुने गरी ग्राहकहरूको खाताबाट १ करोड ६५ लाख रुपैयाँ अनधिकृत रूपमा स्थानान्तरण गरिएको पाइएको हो ।
घटनामा संलग्न रहेको आरोपमा मायादेवी गाउँपालिका–१ का २८ वर्षीय रिशभ कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिपेन्द्र बहादुर सिंहले जनाएका छन् ।
पक्राउ परेका कार्कीलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जनाए ।
प्रहरीले यस्ता घटनाबाट जोगिन ग्राहकलाई आफ्नो बैंक खातामा प्रयोग भएको मोबाइल नम्बर तथा मोबाइल बैंकिङ विवरण नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ । साथै कुनै असामान्य गतिविधि देखिए तत्काल सम्बन्धित बैंक तथा प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ ।
आन्तरिक अनुसन्धानबाट कर्मचारी कार्कीले विभिन्न समयमा विभिन्न बचतकर्ताको एक करोड ६५ लाख रकम हिनामिना गरेको तथ्य फेला परेपछि बैंकको तर्फबाट आफ्नै कर्मचारीविरूद्ध प्रहरीमा उजुरी दिएको थियो।
रकम हिनामिना प्रकरणबाट थप अनुसन्धान जारी रहेको तथा कार्कीमाथि थप अनुसन्धान गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत १६ गते ७ दिनको म्याद थप दिएको डिएसपी सिंहले जानकारी दिए।
प्रतिक्रिया