काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह संसद् र सांसदप्रति जिम्मेवार तथा उत्तरदायी नबनेसम्म संसद्मा आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन्।
बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै साम्पाङले सरकारको गृह मन्त्रालयसमेत प्रधानमन्त्रीकै जिम्मेवारीमा रहेकाले मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले संसद्मा दिनुपर्ने बताए।
गृह मन्त्रालयमाथि सुकुम्वासी बस्ती खाली गराइएको लगायतका विषयमा प्रश्न उठेकाले त्यसबारे संसद्मा स्पष्ट जवाफ आउनुपर्ने उनको भनाइ थियो।
‘हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ। यदि सरकारको आलोचना गर्दैमा र सांसदप्रति उत्तरदायी बनाउने कुरा उठाएकै आधारमा निलम्बन गरिन्छ भने पनि हामी तयार छौँ,’ साम्पाङले भने।
उनले सभामुखले सबै दलको साझा अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। एउटा दलबाट निर्वाचित भएर आए पनि सभामुखको अभिव्यक्ति र व्यवहार निष्पक्ष तथा साझा हुनुपर्ने उनको भनाइ थियो।
‘सभामुख सबैको साझा हो। उहाँ एउटा दलबाट आउनुभएको भए पनि उहाँको अभिव्यक्ति र व्यवहार साझा हुनुपर्छ। उहाँ श्रम संस्कृति पार्टीको पनि सभामुख हुनुपर्छ। म संसदीय दलको नेता हुँ। मलाई नै दुई मिनेट बोल, तीन मिनेट बोल भनेर हुन्छ? त्यो हुँदैन,’ उनले भने।
साम्पाङले आफूहरूले संसद्मा कुनै अमर्यादित वा अभद्र व्यवहार नगरेको दाबी गरे। पर्चा देखाएर असहमति जनाउनु संसदीय अभ्यासभित्रै पर्ने भन्दै उनले त्यसलाई रोक्ने आधार नियमावलीमा देखाउन चुनौती दिए।
‘हामीले तोडफोड गर्यौँ कि, अपशब्द बोल्यौँ कि, कसैमाथि केही गर्यौँ कि? हामीले पर्चा देखाएर हाम्रो माग र असहमति राख्न पाइँदैन? पर्चा बोकेर जान पाइँदैन भनेर कहाँ लेखिएको छ? नियमावलीमा कहाँ छ? पाउँदैन भनेर लेखेको देखाइदिनुस्,’ साम्पाङले भने।
प्रतिक्रिया