+
Search

ताजा अपडेट +

पपुलर +

साइतमै बालेनले प्रधानमन्त्रीको शपथ लिँदै, शीतल निवासमा अझै पुगेन मन्त्रीको नाम

पालिका लाइभ
२०८२ चैत्र १३, शुक्रबार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज शुभ साइत पारेर प्रधानमन्त्रीको शपथ लिँदै छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा उनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारी छ ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार शपथ ग्रहणमा १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल र ७ वटा शंखबाट शंखनाथ हुनेछ ।

त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।

शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ ।

यद्यपि बिहान ८ः३० बजेसम्म मन्त्रीमण्डलका सदस्यबारे कुनै जानकारी नआएको राष्ट्रपति कार्यालय प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहीबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए । बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ