काठमाडौं– नबिल बैंकले धनुषाको जनकपुरस्थित मानव सेवा आश्रमलाई सेवा वाहन अटो हस्तान्तरण गरेको छ ।
शुक्रवार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले उक्त वाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई सेवा वाहन हस्तान्तरण गरेको जनाएको छ ।
कार्यक्रममा आश्रमका अभिभावक पवन सिंघानियाले दैनिक कार्य गर्न कठिनाइ भइरहेको अवस्थामा बैंकबाट प्राप्त बाहनले थप सहज हुनेमा विश्वास व्यक्त गरे ।
बैंकका सीईओ ज्ञवालीले सडक आश्रित मानवहरूको उचित व्यवस्थापनका लागि आश्रमले गरेको कार्य सराहनीय भएको बताए । उनले मानव जातिका सेवा र हितसँग जोडिएका हरेक काम गर्न नबिल बैंक सधैँ तयार रहेको उल्लेख गरे ।
आश्रमका प्रमुख संस्थापक अधिकारीले सेवा वाहन को अभावमा जनकपुरमा रहेको आश्रममा दैनिक कार्य गर्न तथा लक्षित मानवहरूलाई सेवा दिन कठिन भइरहेको अनुभव सुनाए । यस्तो अवस्थामा नबिल बैंकद्वारा सहयोग स्वरूप प्राप्त सेवा वाहनबाट उक्त सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने उनले बताए ।
प्रतिक्रिया