काठमाडौं– निर्वाचनलाई बढीभन्दा बढी सहभागीमूलक बनाउने तथा बदर मतको प्रतिशत घटाउने उद्देश्यसहित निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाएको छ ।
आम नागरिकलाई मताधिकारको महत्व, मतदान प्रक्रिया र सही तरिकाले मत हाल्ने विधिबारे जानकारी गराउने उद्देश्यले आयोगबाट स्वीकृत मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । आयोगका अनुसार फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ ।
स्वयंसेवकहरूले आम मतदाताको बस्ती तथा घरदैलोमै पुगेर नमूना मतपत्रमार्फत मतदान प्रक्रिया र निर्वाचनको महत्वबारे जानकारी गराइरहेका छन् । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन आयोगले स्थानीय तहमा यसअघि तोकिएका सम्पर्क व्यक्तिलाई नै अनुगमनकर्ताको जिम्मेवारी दिई अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिसकेको जनाएको छ ।
यससँगै निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै मिथ्या, भ्रमपूर्ण वा घृणास्पद अभिव्यक्ति प्रसारण गर्ने व्यक्तिहरूमाथि निगरानी बढाइएको छ । गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउन आयोगले अधिकतम प्रयास गरिरहेको जनाएको छ ।
आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको सूचना सदाचार प्रवर्द्धन एकाइ पूर्ण रूपमा क्रियाशील रहेको छ ।
आयोगका अनुसार हानिकारक सूचना उत्पादन तथा सम्प्रेषणमा संलग्न २९० कन्टेन्ट उत्पादक र सम्प्रेषकमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको छ । त्यस्तै, ११ वटा प्रकरण दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अनुसार कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ ।
यसबाहेक ६५ वटा प्रकरण प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल नेपालमा पठाइएको छ भने एक प्रकरण विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अन्तर्गत कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ ।
आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउँदै स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ ।
प्रतिक्रिया