+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रियसभाका १७ रिक्त पदका लागि आज मतदान हुँदै

पालिका लाइभ
२०८२ माघ ११, आईतवार

काठमाडौं– राष्ट्रियसभामा आगामी २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये १७ पदका लागि आज सातै प्रदेशमा मतदान हुँदैछ । निर्वाचन आयोगले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

कुल १८ पदका लागि निर्वाचन तय भए पनि कोशी प्रदेशमा खस आर्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसैले आज बाँकी १७ पदका लागि मात्रै निर्वाचन हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगका अनुसार मतदानका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय तोकिएका स्थानहरूमा आवश्यक बन्दोबस्त मिलाइएको छ । प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष मतदाता रहने यस निर्वाचनमा निष्पक्ष र शान्तिपूर्ण मतदानका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

मतदाताहरूको सहजताका लागि सम्बन्धित प्रदेशमै मतदान केन्द्र तोकिएको छ । आयोगका अनुसार कोशीको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय, मधेसको जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र र बागमतीको हेटौँडास्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान हुनेछ ।

त्यस्तै, गण्डकी प्रदेशका लागि पोखरास्थित प्रदेश निर्वाचन कार्यालय, लुम्बिनीको दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णालीको सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्चिमको धनगढीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ