काठमाडाैं– झापाबाट फर्किँदा विमानस्थलमा आफूलाई ‘माथिको आदेश’ भन्दै हेपिएको र सुन तस्करझैँ व्यवहार गरिएको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन्।
च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले आफूहरूलाई अपमान र दुःख दिनेतर्फ उन्मुख भएको टिप्पणी गरे।
ओलीले अझै आन्दोलनमा उत्रिनुपर्ने वा चुनावमा सहभागी हुने विषयमा निर्णय भइनसकेको बताएका छन्। ‘हामी आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सामेल हुने हो, अझै भन्न सकिने अवस्था बनेको छैन,’ उनले भने।
आफू हिजो झापाबाट फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा असामान्य व्यवहार सहनुपरेको उल्लेख गर्दै उनले सुन तस्करी गरेको झैँ कडा जाँच गरिएको बताए। ‘अस्ति जाँदा राम्रो व्यवहार गरिएको थियो। हिजो फर्किँदा त नेत्र जलिसकेछ। सुन तस्करी झैँ गरेर चेकिङ गरेर हैरान पारे,’ उनले भने, ‘किन यस्तो व्यवहार गरेको भनेर सोध्दा माथिबाट आदेश आएको छ भनियो।’ विदेश यात्रा गर्दा समेत चिनिएका ठाउँमा यति कडा व्यवहार नभएको उनको भनाइ छ।
सरकार आफूहरूलाई दुःख दिने र अपमान गर्ने रणनीतिमा लागेको दाबी गर्दै ओलीले नयाँ आएका राजनीतिक दलहरूप्रति पनि कटाक्ष गरे।
भोलिको भविष्यबारे उनीहरूसँग कुनै स्पष्ट दिशा नभएको टिप्पणी गर्दै उनले नारायणगोपालको गीत स्मरण गरे। ‘भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो कि होइन केही थाहा छैन,’ भन्दै उनले नयाँ दलहरूको राजनीतिक यात्रा अनिश्चित रहेको बताए।
सम्बोधनकै क्रममा ओलीले नयाँ भनिएका दलका एक नेताले सामाजिक सञ्जालमा आफूलाई लक्षित गर्दै आपत्तिजनक टिप्पणी गरेको प्रसंग उठाए।
फेसबुक स्ट्याटसमा आफूलाई ‘मोटोमुनि गाडिदिने’ कुरा लेखिएको भन्दै उनले कडा आपत्ति जनाए। ‘केपी ओली महत्त्वपूर्ण हुनुहुन्छ, त्यसकारण उहाँलाई मोटोमुनि गाडिदिनुपर्छ भनेर लेखिएको रहेछ। कस्तो मति, कस्तो बुद्धि, कस्तो राजनीति,’ उनले भने।
देश निर्माण र विनाशबीचको लडाइँ अहिले जारी रहेको उल्लेख गर्दै ओलीले देश बनाउने शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।
‘मान्छेलाई ज्युँदै गाडिदिने जस्तो सोच कति भयावह छ। अहिले देश जलाउने र बनाउनेबीचको लडाइँ चलिरहेको छ, हामी देश बनाउने काममा जुट्नुपर्छ,’ उनले भने।
प्रतिक्रिया