काठमाडाैं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ महिनामा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको दुई महिना नपुग्दै ७५ प्रतिशत बढी अधिकारी अझै कार्यस्थलमै पुगेका छैनन्।
मन्त्रालयको आदेश अनुसार कागजी रूपमा सरुवा भए पनि धेरैजसो अधिकृतहरू नयाँ कार्यस्थलमा हाजिर नगरी मन्त्रालयमै रोकिएका छन्।
मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव पावर्ती शर्माका अनुसार सरुवा भएका मध्ये ठूलो संख्यामा अधिकृतहरूले तोकिएको पालिकामा हाजिरी नदिएको पुष्टि भएको छ। उनले भनिन्, ‘हामीले सबैलाई आफ्नो सरुवा भएको पालिकामा पठाउने प्रक्रिया अघि बढाएका छौं, जतिसक्दो चाँडो स्थलगत उपस्थिति सुनिश्चित गर्न मन्त्रालय गम्भीर छ।’
भदौ महिनामा मात्रै १३९ नगरपालिका र १३७ गाउँपालिका गरी २७६ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरिएको थियो। तर तीमध्ये करिब तीन चौथाइ अधिकारीले अहिलेसम्म पालिकामा हाजिरी दिएका छैनन्।
सबैभन्दा बढी मधेश प्रदेशका स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूले हाजिरी नदिएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। तीमध्ये धेरैजना कर्मचारीले आफ्नो सरुवा खारेज वा संशोधन गरिदिन माग गर्दै मन्त्रालयमै दबाब दिइरहेका छन्।
गत भदौ १३ गते तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले देशभरका नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नहुने व्यवस्था लागू गर्ने घोषणा गरेकी थिइन्। त्यसैअनुसार मन्त्रालयले भदौ १२ गते २१९ स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको थियो।
तर सो निर्णय कार्यान्वयन हुनुअघि नै भदौ २३ र २४ गते जेनजी आन्दोलन र त्यसपछिका हिंसात्मक घटनापछि तत्कालीन सरकार ढलेसँगै मन्त्री न्यौपाने बाहिरिएपछि योजना अधुरै रह्यो।
यसबीचमा, सरुवा भएका कतिपय अधिकृतले मन्त्रीको निजी सचिवालय र कर्मचारी संगठनका अगुवाको दबाबमार्फत सरुवा बदर गर्न खोजेको मन्त्रालय स्रोतले जनाएको छ।
प्रतिक्रिया