काठमाडौं– राष्ट्रिय सभाले संघीयता सबलीकरणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
संसद सचिवालयका अनुसार यसअघि गत जेठ ११ र १२ गते सातवटै प्रदेशमा राष्ट्रिय सभाले ‘संघीयता सबलीकरणमा राष्ट्रिय सभाको जिम्मेवारी प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ विषयक निर्वाचक मण्डलहरूसँगको समन्वय बैठक/अन्तरक्रिया कार्यक्रम राखेको थियो ।
उक्त कार्यक्रमका उठेका विषयहरूलाई एकीकृत गरेर राष्ट्रिय सभामा पेश गर्ने तयारी थियो । तर, राष्ट्रिय सभामा अधिवेशन नै अन्त्य भएकाले यो अवस्थामा उक्त संघीयता सबलीकरणसम्बन्धी प्रतिवेदन प्रतिवेदन आवश्यक परिमार्जनसहित सार्वजनिक गर्ने निर्णय आइतबार भएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा आइतबार बसेको बैठकमा उपाध्यक्ष विमला घिमिरे, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू, कार्यव्यवस्था परामर्श समितिमा रहेका सदस्यहरू र राष्ट्रिय सभा सचिव लगायत सहभागी थिए ।
बैठकमा समसामयिक अवस्थामा राष्ट्रिय सभाको भूमिकाका विषयमा छलफल भएको छ ।
यसका साथै, राष्ट्रिय सभाको १८अौं अधिवेशनमा भएका कामकारबाही समेत सार्वजनिक गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया