काठमाडौं– सत्तारुढ नेकपा एमाले र सत्ता साझेदार नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाएको छ।
पार्टी स्रोतका अनुसार दुवै दलले उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारीका लागि छलफल र हस्ताक्षर सुनिश्चित गर्न सांसदहरूलाई उपस्थित हुन बोलाएको हो।
एमालेले आफ्ना सांसदहरूलाई बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन सूचना पठाएको थियो। छलफलको विषयवस्तु प्रस्ट सार्वजनिक गरिएको छैन, तर संसदमा विचाराधीन विवादित विधेयकहरूमा दलको धारणा तय गर्ने विषयमा छलफल हुनसक्ने भनिएको छ।
त्यसैगरी, कांग्रेसले पनि आफ्ना सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १२ बजेभित्र उपस्थित हुन निर्देशन दिएको छ। पार्टी स्रोतका अनुसार उपसभामुख रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारीका लागि कांग्रेस सांसदहरूलाई छलफल र हस्ताक्षरका लागि बोलाइएको हो।
उपसभामुख रानामगरमाथि संसद सचिवालयको लेटरप्याड प्रयोग गरी विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोप छ। यस विषयमा छानबिनको माग उठिरहेको छ। संवैधानिक परिषद्को सदस्यको हैसियत भएका रानामगरलाई हटाउने प्रयास यसअघि पनि गरिएको थियो, विशेषगरी कांग्रेसको प्रतिनिधित्व हाल संवैधानिक परिषदमा नभएकाले।
दुवै दलले आकस्मिक छलफल आयोजना गर्नु र महाअभियोग प्रस्ताव तयारीमा लाग्नु संवैधानिक परिषद्को सन्तुलन र पार्टी आन्तरिक रणनीतिसँग जोडिएको छ। सांसदहरूले पार्टी लाइन अनुसार हस्ताक्षर सुनिश्चित गर्नुपर्ने अपेक्षा राखिएको छ।
प्रतिक्रिया