+
Search

ताजा अपडेट +

पपुलर +

तनहुँ जलविद्युत् आयोजनाः मुख्य बाँध निर्माणमा ७३ हजार घनमिटर कङ्क्रिट प्रयोग

पालिका लाइभ
२०८२ श्रावण २२, बिहीबार

तनहुँ– ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँध निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको छ।

हालसम्म बाँध निर्माणका लागि ७३ हजार घनमिटर कङ्क्रिट प्रयोग भइसकेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। उनका अनुसार करिब ९ लाख घनमिटर कङ्क्रिट प्रयोग गरेर १४० मिटर अग्लो बाँध निर्माण गर्ने लक्ष्य रहेको छ।

मुख्य बाँधको कङ्क्रिट निर्माण कार्य २०८१ साल चैत ७ गतेदेखि सुरु गरिएको हो। हाल फाउण्डेसनमाथि औसत १० मिटर उचाइसम्म कङ्क्रिटका ब्लकहरू उठाइसकिएको छ। उच्च बाँध निर्माणमा प्रयोग हुने कङ्क्रिटको तापमान नियन्त्रण अत्यन्त संवेदनशील हुने भएकाले सोही अनुसार सावधानीपूर्वक काम अगाडि बढाइएको आयोजनाले जनाएको छ।

बाँध निर्माण अघि बढाउनका लागि व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१ को सीमाबाट बग्ने सेती नदीलाई ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको हो। डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्र हुँदै पुनः सेती नदीमै खसालिएको छ। आयोजनाले बाँध निर्माणका लागि नदी फर्काउने कामलाई निकै महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

बाँध निर्माणको प्रारम्भिक काम ०७८ साल भदौ १४ गतेदेखि सुरु गरिएको हो भने जग खन्ने काम ०८० कात्तिक २० गते सुरु भई ०८१ असारमा सम्पन्न भएको थियो। हालसम्म बाँध निर्माणको प्रगति ४३.५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ।

यसैबीच, आयोजनाको प्याकेज–२ अन्तर्गत भूमिगत विद्युत् गृहको संरचना निर्माण सकिएको छ र उपकरण जडानको काम भइरहेको छ। यस खण्डमा हालसम्म ६७ प्रतिशत प्रगति भएको छ भने प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७४ प्रतिशत प्रगति हासिल गरिएको छ।

आयोजनाको सम्पूर्ण निर्माण कार्य २०८३ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

निर्माण, प्रसारण लाइन, ग्रामीण विद्युतीय र निर्माण अवधिको व्याजसहित आयोजना सम्पन्न गर्दा कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। यस आयोजनाको वित्तीय व्यवस्थापन एसियाली विकास बैंकबाट १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)बाट १८ करोड ४० लाख, युरोपियन लगानी बैंकबाट आठ करोड ५० लाख र नेपाल विद्युत् प्राधिकरणमार्फत नेपाल सरकारबाट आठ करोड ६० लाख डलर लगानीको रूपमा सुनिश्चित गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ