गोरखा– माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्ला राजनीतिक गतिविधिहरूले गणतन्त्र र संघीय लोकतान्त्रिक संविधानमाथि गम्भीर चुनौती सिर्जना गरेको भन्दै यसको संरक्षणका लागि फेरि एकपटक निर्णायक संघर्ष आवश्यक रहेको बताएका छन्।
सहिद लखन गाउँपालिका कार्यालय र घैरुङ स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गर्न पुगेका प्रचण्डले जनताले प्राप्त गरेको उपलब्धिहरूलाई सुरक्षित राख्नका लागि सबै गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने धारणा राखे।
प्रचण्डले देशमा पछिल्लो समय देखा परेका राजनीतिक विचलन, राज्य संयन्त्रमा भ्रष्टाचारको मौलाउँदो प्रवृत्ति र स्थानीय तहमा अधिकार सम्पन्नता नहुँदा संघीयता कार्यान्वयनमा समस्या देखिएको बताए। ‘संविधान निर्माणको प्रक्रियामा हजारौँ नेपालीको बलिदान र तपस्या रहेको छ,’ उनले भने, ‘तर, ती उपलब्धि उल्ट्याउने प्रयास भइरहेको छ, त्यसकारण अब फेरि आन्दोलन र सचेत संघर्ष अपरिहार्य देखिन्छ।’
उनले आफू प्रधानमन्त्री भएको समयमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी संघीयता कार्यान्वयनमा गति दिएको दाबी गर्दै पछिल्लो सरकारहरूले त्यसलाई कमजोर बनाउने काम गरेको आरोप लगाए। ‘मैले संघीयता कार्यान्वयनको आधार तयार गरेँ,’ प्रचण्डले स्मरण गरे, ‘तर केपी ओली प्रधानमन्त्री भएपछि त्यो अभियान रोकिएको छ। अहिले पनि स्थानीय सरकारहरू अधिकार र स्रोतको हिसाबले निर्बल छन्।’
गणतन्त्रको स्थायित्वका लागि स्थानीय तहहरूलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उनको जोड थियो। उनले ‘गाउँ गाउँमा सिंहदरबार’को नारालाई व्यवहारमा उतार्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे। ‘यो नारामा म विश्वास गर्छु, तर यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन,’ प्रचण्डले भने, ‘स्थानीय सरकारहरू अझै पनि केन्द्रको मुख ताक्न बाध्य छन्, जुन संघीयताको मर्म विपरीत हो।’
कार्यक्रममा उनले गोरखाको विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै बुढीगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन गरिएको पहलकदमी रोकिएकोप्रति दुःख व्यक्त गरे। ‘बुढीगण्डकी आयोजना केवल गोरखा मात्र होइन, राष्ट्रकै लागि महत्त्वपूर्ण आयोजना हो,’ उनले भने, ‘तर दुर्भाग्यवश, राजनीतिक अराजकताका कारण यो आयोजना अलपत्र परेको छ।’
‘बूढीगण्डकी जलविद्युत कम्पनीको सम्पर्क कार्यालय मैले नै उद्घाटन गरेको हो । मेरो पालामा बूढीगण्डकी मोडालिटीको बारेमा जति धेरै बैठक अरु बिषयमा भएन’, उनले भने, ‘त्यसैले बूढीगण्डकी बन्छ, बनाउनै पर्छ । मलाई थाहा छ, जनतालाई धेरै पीडा भएको छ । यो अनिर्णयको अबस्था धेरै लामो रहनु हुदैन ।’
युवाहरूको विदेश पलायन र देशभित्रको बढ्दो निराशाजनक वातावरणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले युवालाई आशा र आत्मनिर्भरताको बाटो देखाउनुपर्ने बताए। ‘नेपाल सम्भावनायुक्त देश हो,’ उनले जोड दिए, ‘हाम्रा युवाहरू विदेश जानुभन्दा देशमै केही गर्न सकिन्छ भन्ने भावनासहित अघि बढ्नुपर्छ। त्यसका लागि हामी सबैले सकारात्मक वातावरण बनाउनुपर्छ।’
उनले सुशासन र पारदर्शिताको अभावले आम जनतामा सरकारप्रति विश्वास खस्किरहेको बताए। ‘लोकतन्त्र केवल चुनावी अभ्यास होइन, सेवा, जबाफदेहिता र जनउत्तरदायीताको प्रणाली हो,” प्रचण्डले भने, “यदि हामीले जनताको मन जित्न सक्दैनौँ भने प्राप्त उपलब्धिहरू पनि गुम्ने जोखिम रहन्छ।’
प्रतिक्रिया