+
Search

ताजा अपडेट +

पपुलर +

सडक स्तरोन्नति योजना:

गोरखा–लमजुङ जोड्ने पन्थडी–कटहरे–हर्मी–साहिलटार सडक कालोपत्रे हुँदै

भौतिक पूर्वाधारको विकासमार्फत ग्रामीण बस्तीमा रोजगारी, पर्यटन र व्यापार प्रवर्द्धन गर्ने दीर्घकालीन सोचसहित यो योजना अघि बढाइएको उनले बताए। उनका अनुसार, यो सडक योजना गण्डकी प्रदेशको दुर्गम भेगलाई सहज आवागमनमा ल्याउने महत्त्वपूर्ण कडी हुनेछ।

पालिका लाइभ
२०८२ बैशाख २०, शनिबार

गोरखा– गोरखा र लमजुङ जिल्लालाई जोड्ने महत्त्वपूर्ण सडक योजनामध्ये एक, पन्थडी–कटहरे–हर्मी–साहिलटार सडक अन्ततः कालोपत्रे चरणमा प्रवेश गरेको छ। भारत सरकारको एक्ज़िम बैंकको आर्थिक सहयोगमा निर्माणाधीन यो योजना पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विशेष पहलमा अगाडि बढाइएको हो।

अहिले निर्माण कार्य कर्ण बिल्डर्स प्रा. लि. मार्फत सञ्चालन भइरहेको छ।

आयोजनाको औपचारिक शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा पालुङटार नगरपालिका–१ स्थित बिमिरेमा एक कार्यक्रमबीच गरेका थिए। आयोजनाको कूल लागत ८० करोड रुपैयाँ रहेको जनाइएको छ। सम्झौता अनुसार यो सडक ३० महिनाभित्र सम्पन्न गरिसक्नुपर्नेछ। हाल निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। यो योजनाअन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्म झण्डै २०.५ किलोमिटरको सडकलाई चौडाइ गर्दै, दुई लेनसहित कालोपत्रे गरिने, नाली, टेवा पर्खाल र आवश्यक संरचनाहरू निर्माण गरिने जनाइएको छ।

सडकको निर्माणपछि गोरखा र लमजुङबीचको यातायात दूरी मात्र घट्ने छैन, ग्रामिण बस्तीहरू पनि सघन आवागमन र आर्थिक गतिशीलतासँग जोडिनेछन्। गोरखा सडक कार्यालयका प्रमुख ई. अमिन्द्र खड्काका अनुसार, ‘योजना अनुसार काम प्रगति भइरहेको छ। केही खण्डमा कालोपत्रे सम्पन्न भइसकेको छ भने अन्य खण्डमा बेस, ग्राभेल र संरचना निर्माण कार्य जारी छ। निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण परिचालन गरिरहेको छ र गुणस्तरीय निर्माणका लागि नियमित प्राविधिक अनुगमन भइरहेको छ।’

पूर्व प्रधानमन्त्री भट्टराईले यस सडक योजनालाई आफ्नो संसदीय क्षेत्र गोरखा-२ को विकासको मेरुदण्डको रूपमा अघि सारेका थिए। भौतिक पूर्वाधारको विकासमार्फत ग्रामीण बस्तीमा रोजगारी, पर्यटन र व्यापार प्रवर्द्धन गर्ने दीर्घकालीन सोचसहित यो योजना अघि बढाइएको उनले बताए। उनका अनुसार, यो सडक योजना गण्डकी प्रदेशको दुर्गम भेगलाई सहज आवागमनमा ल्याउने महत्त्वपूर्ण कडी हुनेछ।

भारतको एक्ज़िम बैंकको ऋण सहयोगमा सञ्चालित यो योजना दुई जिल्लाको भौगोलिक दूरी मात्र घटाउने होइन, सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्धलाई समेत मजबुत बनाउने अपेक्षा गरिएको छ। एक्ज़िम बैंकले यस सडक योजनाको लागि पूर्व सन्धि सम्झौताअनुसार अनुदान र ऋण सहायता उपलब्ध गराएको हो। योजना सफल कार्यान्वयनका लागि नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्थानीय तह, निर्माण कम्पनी र प्राविधिक टोलीबीच सहकार्य भएको बताइन्छ।

कम्पनीका अनुसार, समयमै काम सम्पन्न गर्न आवश्यक जनशक्ति, मेसिनरी र निर्माण सामग्रीको व्यवस्थापन गरिएको छ। स्थानीयवासीको सक्रिय सहभागिता, मौसमको साथ र सहज निर्माण वातावरणको कारण कामले गति लिएको निर्माण पक्षले जनाएको छ। यद्यपि, केही स्थानमा भौगोलिक जटिलता, जमिनको मुअब्जा विवाद र माटोको प्रकारका कारण काममा चुनौतीहरू देखा परेको जनाइएको छ।

स्थानीय बासिन्दाहरूले सडकको निर्माणले धेरै राहत दिएको बताउँदै पूर्व प्रधानमन्त्री भट्टराईप्रति आभार व्यक्त गरेका छन्। कटहरेका एक कृषक भन्छन्, ‘यस सडकले हामीलाई बजार झर्न सहज बनाएको छ। पहिले घण्टौं हिँड्नुपर्थ्यो, अब भने सवारी साधन चल्ने बाटो बनेको छ।’ व्यापारी, विद्यार्थी, बिरामी र कृषक सबैले यस सडकको प्रत्यक्ष लाभ लिने विश्वास व्यक्त गरेका छन्।

हालसम्मको अवस्थाबाट हेर्दा, यदि यथावत गतिमा काम अगाडि बढ्यो भने आगामी केही महिनाभित्र यो सडक पूर्ण रूपमा कालोपत्रे भई सञ्चालनमा आउनेछ। यसले गोरखा र लमजुङबीचको यातायात समय घटाउनुका साथै दुर्गम बस्तीहरूमा विकासको गतिलाई तीव्र बनाउने अपेक्षा गरिएको छ।

यो परियोजना न केवल एक भौतिक पूर्वाधारको उदाहरण हो, तर यसले जनप्रतिनिधिको पहल, अन्तर्राष्ट्रिय सहयोग र स्थानीय जनसहभागिताले कसरी दिगो विकास सम्भव हुन्छ भन्ने संकेत पनि गरेको छ। डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यो योजनाको प्रगति नियमित रूपमा सार्वजनिक गरिरहेका छन्न ।

सडकको निर्माणपछि यो क्षेत्र पर्यटनको दृष्टिले पनि आकर्षक गन्तव्य बन्न सक्ने स्थानीय पर्यटन व्यवसायीहरूको आशा छ। प्राकृतिक सौन्दर्य, नदी, पहाड र सांस्कृतिक विविधता बोकेको यो भेग अब सहज पहुँचमा आएपछि हिकिङ, होमस्टे, स्थानीय कृषि उत्पादनको व्यापार जस्ता क्षेत्रले समेत फड्को मार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ