+
Search

ताजा अपडेट +

पपुलर +

पूर्वाधारमन्त्रीलाई रास्वपा सचेतकको जवाफः स्थानीय तह पनि विपदका पीडित हुन्

पालिका लाइभ
२०८३ भाद्र १७, बुधबार

काठमाडौं– रसुवाको बाढीपछि स्थानीय तहको भूमिकामाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रमुख सचेतक क्रान्तिशिखा धितालले स्थानीय सरकारलाई दोषारोपण गर्नुभन्दा विपद्मा उनीहरूलाई आवश्यक सहयोग र सहारा दिनुपर्ने बताएकी छन्।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले रसुवामा बाढी आए लगत्तै स्थानीय तह स्वतः परिचालित हुन नसकेको र आवश्यक समन्वय नभएको टिप्पणी गरेपछि धितालको यस्तो प्रतिक्रिया आएको हो।

धितालले विपद्को समयमा काठमाडौंमा बसेर प्रभावित स्थानीय तहको कार्यक्षमतामाथि प्रश्न उठाउनु उचित नहुने बताएकी छन्। उनका अनुसार बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्थानीय संयन्त्र आफैँ पनि विपद्को चपेटामा परेका छन्।

‘काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन, हामीसँग समन्वय भएन भनेर मात्र आरोप लगाउनु किमार्थ उचित हुँदैन,’ सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, ‘स्थानीय तह आफैँ पनि यो विपद्को पीडित हो। उसको आफ्नै सहर बाढीले बगाएर बगर बनेको छ।’

विपद्मा आफ्नै घर, कार्यालय, संरचना र स्रोतसाधन गुमाएको स्थानीय तहसँग तत्कालै सामान्य अवस्थामा जस्तै निर्णय क्षमता र व्यवस्थापनको अपेक्षा गर्नु व्यवहारिक नहुने उनको तर्क छ।

‘जसले आफैँ गाँस, बास र कपास गुमाएको छ, उसैबाट पूर्ण क्षमतामा सोच्न, निर्णय गर्न र अरूलाई सम्हाल्न अपेक्षा गर्नु कति न्यायोचित हो ?’ धितालले प्रश्न गरेकी छन्।

उनले विपद्को समयमा प्रदेश र स्थानीय तहलाई कमजोरी देखाएर कठघरामा उभ्याउनेभन्दा उनीहरूलाई पुनः काम गर्न सक्ने अवस्थामा पुर्‍याउनुपर्नेमा जोड दिएकी छन्।

धितालले सरकारका विभिन्न तहबीच आरोप–प्रत्यारोपभन्दा सहकार्य र सहयोग आवश्यक रहेको बताएकी छन्। ‘विपद्मा सरकारका तहहरू प्रतिस्पर्धी होइनन्, एकअर्काका सहारा हुन्। हामी सहारा बनौँ,’ उनले लेखेकी छन्।

मन्त्री लम्सालले भने मंगलबार आयोजित एक अन्तरक्रियामा रसुवामा बाढी आए लगत्तै स्थानीय तह अपेक्षित रूपमा स्वतः परिचालित हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

त्यसको जवाफमा आएको धितालको प्रतिक्रियाले विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयसँगै विपद् भोगिरहेको स्थानीय सरकारलाई कसरी परिचालन र सहयोग गर्ने भन्ने बहसलाई समेत अगाडि ल्याएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ