+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेसँग बाढी प्रभावित स्थानीय तहका प्रमुखको गुनासो : ‘सरकारले उद्धार गर्नै सकेन’

तस्बिर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा पार्टी कार्यालयमा भेटघाट गर्दै ।
पालिका लाइभ
२०८३ भाद्र १४, आईतवार

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा ढिलाइ भएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतबार बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न पालिका प्रमुख तथा उपप्रमुखसँग टेलिफोन संवाद गर्दै त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन्।

लामिछानेले पार्टी कार्यालयमै बसेर प्रभावित क्षेत्रका जनप्रतिनिधि तथा रास्वपाका जिल्ला सभापतिसँग उद्धार, राहत र स्थानीय अवस्थाबारे छलफल गरेका थिए।

त्यसक्रममा पालिका प्रमुखहरूले सरकारले प्रभावित क्षेत्रमा अपेक्षाअनुसार उद्धार तथा राहत पुर्‍याउन नसकेको गुनासो गरेका थिए। उनीहरूले सरकारको ध्यान एउटै क्षेत्रमा केन्द्रित हुँदा अन्य प्रभावित बस्तीमा उद्धार र राहतको काम प्रभावकारी हुन नसकेको बताएका थिए।

‘अहिलेसम्म प्रभावकारी उद्धार हुन सकेको छैन। प्रभावित क्षेत्रमा राहत पुगेको छैन। सरकार एकै ठाउँमा केन्द्रित देखिन्छ। शवसमेत उठाउन सकिएको छैन,’ उनीहरूको गुनासो थियो, ‘फसेका मानिसको उद्धारका लागि आवश्यक जनशक्ति पनि पठाइएको छैन।’

जनप्रतिनिधिहरूले बाढीका कारण अवरुद्ध सडक तथा पुल तत्काल सञ्चालनमा ल्याउनुपर्ने, सञ्चार सम्पर्क पुनः स्थापित गर्नुपर्ने र विद्युत् सेवा सञ्चालन गर्नुपर्ने माग पनि लामिछानेसमक्ष राखेका थिए।

जवाफमा लामिछानेले प्रभावित क्षेत्रको अवस्थाबारे सरकारसँग छलफल भइरहेको भन्दै उद्धार तथा राहतका कामलाई थप तीव्रता दिन पहल गर्ने बताएका थिए। उनले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसँग पनि यस विषयमा छलफल गर्ने जानकारी दिएका थिए।

रास्वपाका केन्द्रीय सदस्य मिलन लिम्बुका अनुसार लामिछानेले प्रभावित जिल्लाका पार्टी सभापतिसँग समेत फोनमार्फत स्थानीय अवस्थाबारे जानकारी लिएका थिए।

‘सभापतिज्यूले बाढीग्रस्त पालिका प्रमुखहरूसँग फोन संवाद गरेर त्यहाँको अवस्था र हामीले गर्न सक्ने सहरीकरणबारे जानकारी लिनुभयो,’ लिम्बुले भने, ‘उहाँहरूले सडक, पुल, सञ्चार र शव व्यवस्थापनमा तत्काल सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ।’

लिम्बुका अनुसार लामिछानेले पार्टी कार्यालयबाटै प्रभावित जिल्लामा भइरहेको उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिएका थिए।

गत भदौ १० गते रसुवागढीबाट करिब २० किलोमिटर उत्तरतर्फको हिमाली क्षेत्रमा अचानक हिम पहिरो खसेपछि ल्हेन्दे खोलामा ठूलो बाढी आएको थियो। बाढीले रसुवाका रसुवागढी, टिमुरे, स्याफ्रुँबेँसी र वेत्रावतीलगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

नुवाकोटका देवीघाट, त्रिशूली, सोलेलगायत बजार तथा नदी तटीय क्षेत्र पनि बाढीबाट प्रभावित भएका छन्। कतिपय स्थानमा घर तथा भौतिक संरचना बगाएको छ भने सडक, पुल, सञ्चार र विद्युत् सेवा अवरुद्ध भएको छ।

बाढीका कारण ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएको र केही मानिस सुरुङ तथा जोखिमपूर्ण स्थानमा फसेको बताइएको छ। घटना भएको चार दिन बितिसक्दा पनि कतिपय प्रभावितको उद्धार हुन नसकेको स्थानीय जनप्रतिनिधिको गुनासो छ।

बाढीपछिको अवस्थालाई लिएर स्थानीय तहहरूले तत्काल उद्धार, खोजी, शव व्यवस्थापन तथा राहत वितरणलाई प्राथमिकताका साथ अघि बढाउन सरकारसँग माग गरिरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ