+
Search

ताजा अपडेट +

पपुलर +

विपद् व्यवस्थापनमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख खर्च गर्ने

पालिका लाइभ
२०८३ भाद्र १४, आईतवार

काठमाडौं– काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपियाँ सहयोग गर्ने भएको छ ।

भोटेकोशी बाढीबाट पुगेको क्षति व्यवस्थापनमा महानगरपालिकाको सहयोगका विषयमा छलफल गर्न आज बोलाइएको ५७ औँ कार्यपालिकाको बैठकले खाद्यान्न, लत्ता कपडा, इन्डक्सन सहित भाडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिन्डर, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्साभेटर, जेट मेसिन लगायतका साधन र सामग्री तथा आवश्यकता अनुसारका जनशक्ति व्यवस्थापन गर्न विपद् व्यवस्थापन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

सहयोग रकममध्ये महानगर विपद् व्यवस्थापन कोषबाट ३ करोड रुपियाँ प्रदान हुनेछ । बाँकी रकम, कार्यपालिका सदस्यहरूको १ महिनाको सुविधाबाट प्राप्त हुने रकम, वडा सदस्यहरूको ५ दिनको सुविधा रकम, शहरी योजना आयोगका उपाध्यक्ष, सदस्य तथा सहायक विज्ञको ७ दिन बराबरको पारिश्रमिक तथा सुविधा रकम, महानगरपालिकामा कार्यरत अधिकृत स्तरका कर्मचारीहरूको ७ दिन बराबरको पारिश्रमिक रकम, सहायक स्तरका कर्मचारीको ५ दिन बराबरको पारिश्रमिक रकम, श्रेणिविहीन कर्मचारीको २ दिन बराबरको पारिश्रमिक रकम जम्मा गरिनेछ ।

बैठकमा अध्यक्ष एवं महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले, उद्धार कार्य एउटा जोखिम ठाउँबाट सुरक्षित ठाउँमा पुर्‍याउनु मात्र नभई दैनिक सहज जीवन प्रदानबाट पुन:स्थापना गर्नु पर्ने बताउँदै यस्ता कार्यमा महानगरपालिकाबाट नियमित सहयोग प्रदान हुने बताइन् ।

‘बाढीमा जनधन पुगेको क्षति सँगै काठमाडौं बसेर अध्ययन गरिरहेका त्यस क्षेत्रका विद्यार्थी, अस्पतालमा कुरुवा वा सहयोगी नभएका बिरामीहरूको हेरचाहसम्मका काम गर्नुपर्नेछ । यसकारण हामी जहाँ छौँ । जसरी सहयोग गर्न सक्छौँ । त्यसलाई प्रभावकारी बनाउन आवश्यक छ ।’

बैठकमा प्रवक्ता नवीन मानन्धरले भदौ १० गते बाढी आएका दिन देखि अहिलेसम्म खोज तथा उद्धार र मानवीय सहायताका लागि महानगरपालिकाले गरेका कामका विषयमा जानकारी गराए ।

विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले, भदौ १० गते बसेको महानगर विपद् व्यवस्थापन समितिले गरेका निर्णय कार्यान्वयनमा विषयमा जानकारी गराए ।

बैठकले महानगरवासी, व्यापारी, व्यवसायी, उद्योगी, पेशाकर्मीहरुलाई आफ्नो सामर्थ्य अनुसार विपद् व्यवस्थापनमा सहयोगका लागि आव्हान गर्ने निर्णय गरेको छ । यसको व्यवस्थापनका र सहजीकरणको लागि राष्ट्रिय सभागृहमा तत्काल सहायता कक्ष सञ्चालनमा ल्याइनेछ ।

यस्तै बाढी परेका महानगरवासीहरूको लगत संकलन, तत्काल उद्धार तथा सहयोग उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय सभागृहमा सूचना केन्द्र सञ्चालन गरी सबै वडा कार्यालयबाट सूचना तथा विवरण संकलन गर्न सूचना तथा प्रविधि विभागलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ