काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई खोज, उद्धार तथा तत्काल राहतका लागि सरकारले ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको भदौ ११ गतेको निर्णयअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित स्थानीय तहलाई विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराइएको हो।
विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै तत्काल राहतका कामलाई प्रभावकारी बनाउन स्थानीय तहलाई रकम उपलब्ध गराइएको हो।
निकासा भएको रकममध्ये रसुवाका चार स्थानीय तहले २ करोड २५ लाख रुपैयाँ पाएका छन्। उत्तरगया गाउँपालिकालाई ७५ लाख, गोसाइँकुण्ड गाउँपालिकालाई १ करोड, कालिका गाउँपालिकालाई ३० लाख र आमाछोदिङ्मो गाउँपालिकालाई २० लाख रुपैयाँ उपलब्ध गराइएको छ।
नुवाकोटका चार स्थानीय तहलाई ३ करोड रुपैयाँ निकासा गरिएको छ। विदुर नगरपालिकाले १ करोड ५० लाख, बेलकोटगढी नगरपालिकाले ७५ लाख, किस्पाङ गाउँपालिकाले २५ लाख र तारकेश्वर नगरपालिकाले ५० लाख रुपैयाँ पाएका छन्।
त्यस्तै, धादिङका चार स्थानीय तहलाई १ करोड रुपैयाँ उपलब्ध गराइएको छ। गल्छी गाउँपालिकालाई ३० लाख, सिद्धलेक गाउँपालिकालाई ३० लाख, गजुरी गाउँपालिकालाई २० लाख र बेनीघाट रोराङ गाउँपालिकालाई २० लाख रुपैयाँ निकासा गरिएको छ।
गोरखाको गण्डकी गाउँपालिकालाई २० लाख रुपैयाँ र तनहुँका देवघाट तथा आँबुखैरेनी गाउँपालिकालाई २०–२० लाख रुपैयाँ उपलब्ध गराइएको छ। सरकारले स्थानीय तहमा उपलब्ध गराएको रकम खोज तथा उद्धार, तत्काल राहत र विपद्बाट प्रभावित नागरिकको व्यवस्थापनमा परिचालन गरिनेछ।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान सञ्चालन भइरहेको छ। स्थानीय तहलाई तत्काल आवश्यक पर्ने स्रोतसाधनको व्यवस्थापन सहज बनाउन सरकारले विपद् व्यवस्थापन कोषबाट रकम निकासा गरेको हो।
यसअघि पनि सरकारले खोज, उद्धार तथा तत्काल राहतका लागि रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइसकेको छ। यससँगै प्रभावित जिल्लामा स्थानीय तहले परिचालन गर्ने खोज, उद्धार तथा तत्काल राहतका लागि सरकारी स्रोतबाट थप रकम उपलब्ध भएको हो।
प्रतिक्रिया