काठमाडौं– रसुवा बाढीमा प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सघाउन मनकामना केबलकार र चितवन मिल्कले आर्थिक सहयोग गरेका छन्।
जारी राष्ट्रिय उद्धार, राहत तथा पुनर्निर्माणसम्बन्धी प्रयासहरूमा सहयोग पुर्याउन चितवन को-ई ग्रुपको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १.५० करोड योगदान गरिएको हो।
यसअन्तर्गत नेपालको पहिलो केबुलकार मनकामना दर्शन प्रालिको तर्फबाट १ करोड २५ लाख र चितवन मिल्क लिको तर्फबाट २५ लाख रुपैयाँ जम्मा गरिएको छ।
‘हाम्रो जरा चितवन, गोर्खा र हामीले कार्य गर्ने वरपरका क्षेत्रहरूसँग गहिरोसँग जोडिएको छ। जब यी क्षेत्रहरूमा विपत्ति पर्छ, हामी टाढाबाट सहयोग गर्दैनौँ; हामी छिमेकी, साझेदार र एउटै समुदायका सदस्यका रूपमा अघि बढ्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको दृढ विश्वास थियो कि समुदायका सदस्यका रूपमा हाम्रो व्यवसायलाई अघि बढाउन र सफल बनाउन मञ्च प्रदान गर्ने समाज र देशप्रति उत्तरदायी हुनु हाम्रो कर्तव्य हो। उहाँको यही मूल सिद्धान्तलाई अङ्गीकार गर्दै हामी आज पनि देशको साथमा उभिएका छौँ।’
यो योगदानले तत्काल राहत पुर्याउन, प्रभावित परिवारहरूलाई पुनः स्थापना गर्न र समुदायको पुनर्निर्माणका लागि भइरहेका प्रयासहरूलाई थप बल पुर्याउने आशा गरिएको छ।
प्रतिक्रिया