+
Search

ताजा अपडेट +

पपुलर +

मनासलु पदमार्गको नाम्रुङ खोलामा भीषण बाढी : चार घर र पुल बगायो

बूढीगण्डकीको तटीय क्षेत्रमा सचेत रहन आग्रह

पालिका लाइभ
२०८३ भाद्र २१, आईतवार

गोरखा– उत्तरी गोरखाको विकट हिमाली क्षेत्र चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको भीषण बाढीले व्यापक क्षति पुर्‍याएको छ। आज बिहान अचानक आएको लेदोसहितको बाढीले स्थानीय चारवटा घर र मनासलु पदमार्गलाई जोड्ने एक मात्र महत्त्वपूर्ण झोलुङ्गे पुल बगाएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बाढीले स्थानीय नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएर बगरमा परिणत गरिदिएको छ।

खोलाको सतह एकाएक बढेर बाढी बस्तीतिर सोझिएपछि स्थानीयवासीले भागेर ज्यान जोगाएका थिए। समयमै भागाभाग भएका कारण ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए।

बाढीले स्थानीय आवतजावत गर्ने झोलुङ्गे पुलसमेत बगाएपछि यो क्षेत्रको यातायात पूर्ण रूपमा विच्छेद भएको छ। यो पुल मनासलु पदयात्रा (ट्रेकिङ) मार्गको मुख्य खण्डमा पर्ने भएकाले पदयात्रामा निस्किएका विदेशी तथा आन्तरिक पर्यटकहरू प्रत्यक्ष प्रभावित हुने भएका छन्।

पुल बगेसँगै पर्यटक र स्थानीय बासिन्दा बीच बाटोमै अलपत्र पर्ने जोखिम बढेको छ। चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पुल बगेपछि तत्कालका लागि आवागमन सहज बनाउन स्थानीय स्तरबाटै काठको अस्थायी फड्के वा वैकल्पिक उपाय अपनाउने तयारी भइरहेको जानकारी दिए।

बाढीको मुख्य कारण खोलाको माथिल्लो तटीय (मुहान) क्षेत्रमा पहिरोका कारण केही समय पानी थुनिएर अचानक फुट्नु रहेको प्रशासनको आकलन छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मुहान क्षेत्रमा थुनिएको पानी लेदो र गेगरसहित बगेर आउँदा तल्लो क्षेत्रमा ठूलो क्षति भएको हो।

नाम्रुङ खोला सिधै बूढीगण्डकी नदीमा मिसिने भएकाले नदी किनारका तल्लो तटीय क्षेत्रमा रहेका बस्तीहरूलाई विशेष सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

खोलाको बहाव अझै अनियन्त्रित हुनसक्ने आशंकामा प्रहरी र स्थानीय जनप्रतिनिधिले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन सचेत गराइरहेका छन् भने विस्थापित परिवारको तत्काल व्यवस्थापनका लागि पहल सुरु गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ