+
Search

ताजा अपडेट +

पपुलर +

सुर्खेतको भेरिगंगाले प्रदेशलाई बुझाएन राजश्व, धेरै बुझाउनेमा पञ्चपुरी नगरपालिका

पालिका लाइभ
२०८३ भाद्र २०, शनिबार

सुर्खेत– कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत जिल्लाका नौ ओटा पालिका मध्ये भेरिगंगा नगरपालिकाले कर्णाली प्रदेश सरकारलाई बुझाउनुपर्ने राजश्व गत आर्थिक वर्ष २०८२/०८३ मा नबुझाएको पाइएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार बाँकी आठ ओटा पालिकाले भने गत आर्थिक वर्षमा संविधानले तोके अनुसारको राजश्व प्रदेश सरकारलाई तिरेका हुन् ।

तर, कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्र नगरपालिकाले विज्ञापन कर, मनोरञ्जन कर र बहत्तर बहत्तर कर तिरेको भए पनि पञ्चपुरी नगरपालिकाले सबैभन्दा बढी कर तिरेको हो ।

विगतमा प्रदेश सरकारको आन्तरिक आय कम भएको, पालिकाले प्रदेश सरकारलाई कर नतिरेर नटेर्ने गरेको आरोप लागिरहेको बेला गत आर्थिक वर्षमा भने सो नतिजामा केही हदसम्म फेरबदल भएको हो । यद्यपि कर्णालीका अधिकांश पालिकाले अझै पनि प्रदेश सरकारलाई राजश्व तिर्ने गरेका छैनन् ।

वीरेन्द्रनगरपालिकाले प्रदेश सरकारलाई मनोरञ्जन कर बापत पाँच लाख छत्तीस हजार तीन सय त्रिपन्न रुपैयाँ अन्ठाउन्न पैसा तिर्दा विज्ञापन कर बापत आठ लाख ३६ हजार ६३७ रुपैयाँ १७ पैसा तिरेको छ । बहत्तर बहत्तर सुल्क शीर्षकमा ५३ लाख १४ हजार २९५ रुपैयाँ ५७ पैसा गरी कूल ६६ लाख ८७ हजार २८६ रुपैयाँ ७२ पैसा प्रदेश सरकारले प्राप्त गरेको हो ।

अन्य पालिकाले भने बहत्तर बहत्तर सुल्क मात्र बुझाएका छन् । अन्य पालिकामा वीरेन्द्रनगरका जस्तो फिल्म हल, अन्य पार्कहरू नभएका कारण उनीहरूले एउटै सुल्क तिरेका हुन् ।

चौकुने गाउँपालिकाले ४७ लाख ९४ हजार ८६२ रुपैयाँ प्रदेश सरकारलाई बुझाउँदा पन्चपुरी नगरपालिकाले सबैभन्दा बढी ७० लाख १६ हजार २९८ रुपैयाँ सुल्क बुझाएको छ ।

यस्तै, बराहताल गाउँपालिकाले १४ लाख ५० हजार ६३६ रुपैयाँ सुल्क प्रदेश सरकारलाई बुझाउँदा लेकबेशी नगरपालिकाले भने २२ लाख २८ हजार ९६१ रुपैयाँ बुझाएको छ ।

त्यस्तै, गुर्भाकोट नगरपालिकाले सोही शीर्षकमा २२ लाख २८ हजार ९६१ रुपैयाँ सुल्क बुझाउँदा सिम्ता गाउँपालिकाले २२ लाख ४४ हजार ११४ र चिङ्गाड गाउँपालिकाले २ लाख ६२ हजार ७२० रुपैयाँ गरी सुर्खेत जिल्लाबाट कूल दुई करोड ८० लाख ६९ हजार दश रुपैयाँ प्रदेश सरकारले प्राप्त गरेको हो ।

यसरी हरेक पालिकाबाट कर संकलन गर्न सकिएको खण्डमा प्रदेश सरकारले आन्तरिक आयमा वृद्धि हुने अपेक्षा राखिएको आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ